सन्तकुमार चौधरी-
कालिका, ४ भदौं । यूएईको आवुदावी शहरमा १० वर्ष काम गरेर फर्किएका पदपुरका ढाकाराम आचार्य हिजो आज भैंसी गोठमा कामगर्न व्यस्त छन् । कालिका नगरपालिकाको वडा नं. २ पदमपुर स्थित आफ्नै थलोमा व्यवसायिक भैंसी पाल्न थालेको चारवर्ष भयो ।
गणेश कृषि फर्म दर्ता गरेर उनले व्यवसायिक भैंसी पाल्न गरिरहेका छन् । चारवर्ष अगाडी चारवटै भैंसीवाट व्यवसायिक यात्रा सुुरु गरेका ढाकाराम आचार्यको फर्ममा अहिले उन्नत जातका ६० वटा भैंसी छन् । यिनको फर्मवाट दैनिक २ सय ५० लिटर दुध उत्पादन हुन्छ ।

ढाकारामलाई उनको परिवारले साथ दिएका छन् । १७ वर्ष भारतको आन्द्राप्रदेशमा कामगरेर फर्किएका दाजु कृष्णप्रसाद आचार्यपनि फर्ममै व्यस्त छन् । बुबा गणेशप्रसाद आचार्यकै नामबाट फर्म दर्ता गरेका छन् । यिनीहरुको फर्ममा माउ भैंसीमात्रै ३७ वटा छन् । अहिले २९ वटा दुना भैसी छन् । फर्मवाट राम्रो आम्दानी भइरहेको ढाकाराम बताउँछन् । उसो त फर्ममा लगानी पनि राम्रै छ । १ लाख ४० हजार देखि २ लाख रुपैयाँ सम्म मूल्यपर्ने यिनको गोठमा भैसीहरु छन् ।
मुर्रा गुजराती जातको भैसी पालेका हुन । एउटा हरियाना अर्ना जातको भैसीपनि मिसिएको छ । भैसी खरिद देखि गोठ व्यवस्थापन, अन्य संरचना निर्माण गरी झण्डै डेढकरोड रुपैयाँ फर्ममा लगानी भएको ढाकारामले बताए । ८० लाख रुपैयाँ त उन्नत जातको भैसी किन्दै सकियो ढाकारामले भने –‘फर्ममा दुईलाख रुपैयाँ त एउटा भैंसीलाई मात्रै तिरेर ल्याएका छौं ।’
गोठमा घरका सबै सदस्यहरु कामगर्न खटिने गरेका छन् । भकारो सोेर्नेदेखि दानापानीको खुवाउने काम घरका सबै सदस्यनै मिलेर गर्छन् । परिवारमा मेलमिलापका कारणले पनि यो सम्भव भएको हो ढाकारामले भने – ‘हामी ज्वाईन्ट फ्यामेलिसँगै छौं । दाजु, भाउजु, बुबा, आमा सबै गोठमै हुन्छौं । यसैमा खुशी लाग्छ ।’

नगरपालिकाले एउटा उन्नत जातको बियाड राँगा सहयोग गरेको छ । सहयोग प्राप्त मुर्रा जातको राँगा भारतको बेतिहारीबाट ल्याएको हो । १ लाख ३० हजार रुपैयाँ परेको राँगा ल्याउन कालिका नगरपालिकाले ६५ हजार रुपैयाँ आर्थिक सहयोग दिएको ढाकारामले बताए । यत्रो भैसी पाल्ने किसानले एउटा पाडो किन्न नसक्ने भन्ने हुँदैन । तर नगरपालिका आफैले सम्झिएर दिएकाले त्यो सहयोग मेरो लागि ठूलो मान्यता राखेको छ ढाकारामले भने – ‘हामी अत्यन्तै खुशी छौं ।’
ढाकारामको फर्मलाई नगरपालिकाले पाडो मात्रै दिएको छैन । उनिहरुलाई चाहिने प्राविधिक सहयोग पनि पाउँदै आएको छ । सामान्य ज्वरो आउँदा, खोरेत लाग्दा देखि खोर व्यवस्थापन कसरी गर्ने सम्मको सल्लाह सुझाव प्राविधिकहरुवाट आफुहरुले पाउँदै आएको उनिहरुको भनाई छ । गोठमा भैसीको संख्या थपिदै गएको छ । व्यवसाय बढ्दै गएकाले थप एउटा राँगा फर्मलाई आवश्यक परेको दाजु कृष्ण प्रसाद आचार्यले सुनाए । उनका अनुसार भैसी पालनमा परिश्रम अनुसारको फल प्राप्ती छ ।
कसरी बन्यो फर्म संचालनगर्ने योजना ?
यूएईको आवुदावीमा काम गर्दै आएका ढाकाराम र भारतको आन्द्रप्रदेशमा रोजगारी गर्दै आएका कृष्ण प्रसाद आचार्य सहोदर दाजुभाइ हुन । कोभिड महामारीका बेला घर आए । कोरानो महामारीको समय निकै लम्बियो । समयमा काममा फर्किन सकेनन् । यतै केही गरौं भन्ने दाजुभाइबीच सल्लाह भयो । सुरुमा चारवटा भैसी ल्याउने निधो गरे । सोही अनुसार गोठ व्यस्थापन गरेर भैसी पाल्न थाले । चारवटा भैसीले राम्रै आम्दानी दिन थाल्यो ।
नियमित दुध बेच्दै जाँदा प्राप्त प्रतिफलले थप आशा दिँदै गयो । पछि चारवटा भैसीवाट आठवटा भयो । यसै गरी क्रमश चार वर्षको अवधिमा अहिले ६० वटा उन्नत जातका भैसीले गोठ भरिएको छ । त्यतिबेला बाध्यताले घर छाडेर विदेशीनुपरेको अवस्थालाई भुल्न नसकिने क्षणको रुपमा आफुले लिने गरेका दाजु गणेश बताउँछन् ।
कृष्ण प्रसाद आचार्य लाई घर परिवार छाडेर भारतको भूमीमा काम गरेर कमाएको पैसा भन्दा अहिले भखारो फालेकै श्रम मिठो लाग्छ । दाजु कृष्ण जस्तै भाइ ढाकाराम पनि यतै रमाइरहेका छन् । १६ वर्षको उमेरदेखि झोला भिरेरस हिडेको त्यो समय यतिकै खेर गए झै लाग्छ उनलाई । –‘विदेश गएकोमा ठूलो पछुतो छ ’ मलाई ढाकारामले भने ।
यिनीहरुको अनुभवमा श्रमगर्ने हो भने व्यवसायिक भैसीपालनमा राम्रो सम्भावना छ । चिया पसलमा गफ गरेको भरमा यो व्यवसाय चल्दैन । अहिले पढेलेखेका युवाहरु अष्टे«लिया, अमेरिका गइरहेका छन् । स्वदेशमै राम्रो सम्भावना छ । त्यसका लागि इच्छा शक्ति हुनुपर्ने यिनीहरु बताउँछन् ।

ढाकारामको परिवारवाट देशभरका युवाले पाठ सिक्नुपर्छः मेयर रेग्मी
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी आइतवार विना सूचना कृष्ण फर्ममा अनुगमनगर्न पुगे । लम्पी स्किन विरुद्धको भ्याक्सिन बोकेर किसानहरुको गोठगोठमा पुग्गनेगरी नगरपालिकाले परिचालन गरेको प्राविधिक सहितको टोली फर्ममा पुग्यो कि पुगेन भनेर जानकारी लिन नगर प्रमुख रेग्मी फर्ममा पुगे । उनले भैसीहरुमा भ्याक्सिन लगाए, नलगाएको विषयमा जानकारी लिए । त्यो सँगै किसानहरुमा थप समस्या बारे बुझे । बेलाबेला किसानको घर गोठमा समस्या र गुनासो सुन्न नगर प्रमुख रेग्मी यसै गरी पुग्ने गरेको छन् । नगर प्रमुख रेग्मीले फर्म संचालकलाई गोठमा भएका भैसीहरुलाई भ्याक्सिन लगाए, नलगाएको सोधे ।
ढाकारामको परिवारले गरेको मेहनतवाट देशभरका युवाहरुले पाठ सिक्नुपर्ने नगर प्रमुख रेग्मीले बताए । टाउकोको पसिना पैतला सम्म नपुगे सम्म सम्बृद्धी सम्भव नभएको उनले बताए । – ‘उहाँहरुबाट परिश्रम कसरीगर्ने भन्ने विषयमा युवापुस्ताहरुले सिक्नुपर्छ ’उनले थपे । नगरको सम्बृद्धीका लागि यस्ताखालका परिश्रमी युवाहरुलाई नगरपालिकाले विशेष सहयोग गर्ने बताए । प्राविधिक सहयोगसँगै मापदण्ड अनुसार सहयोग गर्न आतुर छौं उनले भने – ‘घाँसको बीउ देखि गोठ सुधार सम्मका काममा हामीले सहयोग गर्दै आएका छौं । ’




–00–


