साउन ३० गतेसम्म समस्या समाधान नभए साउन ३१ गतेदेखि निर्णायक आन्दोलनमा उत्रिने चेतावनी

पूर्वि चितवनबाट आउने सार्वजनिक गाडीलाई नारायणगढ सम्म जान दिन रास्वपा को आग्रह

चितवन, २७ साउन

रास्वपा चितवन र चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले शुक्रबार छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी पूर्वी चितवनको लोथरसम्मबाट आउने सार्वजनिक गाडीलाई तत्काल नारायणगढसम्म जान दिन आग्रह गरेका हुन् । पूर्वी चितवनबाट भरतपुर भित्रिने सार्वजनिक गाडीलाई नारायणगढसम्म जान नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सांसद ढकाल हिजो (शुक्रबार) सार्वजनिक गाडी चढेर नारायणगढको लायन्स चोकसम्मै पुगेका थिए । प्रहरीको अवरोधका बीच ढकालको नेतृत्वमा केहि सार्वजनिक गाडी नारायणगढसम्म गएपनि अवस्था सहज भएको छैन । पूर्वी चितवनबाट आउने गाडीलाई केन्द्रिय बसपार्कमै रोक्ने भरतपुर महानगरपालिकाको निर्णयका कारण २०७९ मंसिर १९ गतेदेखि पूर्वी चितवनका बासिन्दाले दुःख पाएको ढकालले बताए ।

‘भरतपुर–नारायणगढमा अस्पताल, क्याम्पस, व्यवसाय र रोजगारीका लागि आवतजावत गर्दा यातायातको साधन परिवर्तन गरी गन्तव्यसम्म पुग्नुपर्ने सकसपूर्ण कारणले पूर्वी चितवनबासीको यातायात खर्च बढ्नुको साथै असहज र असुविधा भएको छ’, ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सम्बन्धित पक्ष र जिल्ला प्रशासन कार्यालयसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन र सहजिकरणका लागि ८ महिना वितिसक्दा पनि कुनै सुनुवाई नहुँदा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

रास्वपा चितवनको विज्ञप्तिमा पूर्वी चितवनका चार वटै पालिका सभापतिले हस्ताक्षर गर्दै साउन ३० गतेसम्म पनि समस्या समाधान नभए साउन ३१ गतेदेखि पूर्वी चितवनबासी निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सांसद ढकालको पहलमा सार्वजनिक गाडीलाई नारायणगढसम्म लैजाने प्रयासलाई स्थानीय प्रशासनले धरपकड र अवरोध गरेको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले बताए ।

Share:

सम्बन्धित समाचारहरु