सुलभ सिग्देल — माटोको आत्मा र आत्मनिर्भरता यात्रा

सेतो नेपालका संवाददाता: रेशम सापकोटाले सुलभ सिग्देलसंग गरेको कुराकानीको आधारमा तयार पारिएको रिपोर्ट।”

मिति २०४३ साल साउन ६ गते, तनहुँको क्यु गाउँ विकास समिति–७, बोमा भन्ने ठाउँमा सधैं परिश्रम गर्ने एक किसान परिवारमा जन्मिएका थिए सुलभ सिग्देल। उनका बुवा धनेश्वर सिग्देल र आमा मनमाया सिग्देलका छ सन्तानमध्ये चौथो सन्तानका रूपमा उनले जीवनको थालनी गरे।

बाँच्ने संघर्ष सुरु भएको त्यो यात्रामा एक वर्ष नपुग्दै परिवार रौतहटको सन्तपुर–४, बसन्तपुरतिर बसाइँ सरे। त्यहाँ उनले प्रारम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालयबाट सुरु गरे। बाल्यकाल खेतमा आमाबुवासँग पसिना बगाउँदै, गोठालो गर्दै र साथीहरूसँग माटो खेल्दै बित्यो। खेत जोत्नेलाई सहयोग गर्न नपाउने उमेर भए पनि सुलभको मनले पहिले नै जीवनको संघर्ष र श्रमको महत्व सिकिसकेको थियो।

बालक सुलभको जीवनमा माटोको गन्ध, गहुँ र धानको बाली, खेतको हरियाली, र पसिनाको गहिरो स्वाद निकै पहिलेदेखि मिसिएको थियो।

सुलभले गाउँकै शुभलाभ माध्यमिक विद्यालयबाट कक्षा ५ देखि १० सम्म पढे। अतिरिक्त क्रियाकलापहरूमा समेत अग्रसर सुलभमा त्यसैबेलादेखि आत्मनिर्भर बन्ने सोच पलाएको थियो। उनको जीवन सरल थिएन — बिहान खेत, दिउँसो स्कुल, साँझ घरको काम। छिमेकीको खेतमा बुवा आमालाई काम गर्दै गरेको देख्दा उनलाई बिस्तारै थाहा हुँदै गयो — जिन्दगी सजिलो छैन, तर सम्भव भने छ।

२०५७ सालमा उनीहरू भरतपुर–२१, पार्वतीपुर सरे। त्यतिबेला देशमा द्वन्द्व चर्किरहेको थियो। आर्थिक अवस्था कमजोर थियो। तर सुलभको मनमा भने राष्ट्रप्रतिको माया अझ बलियो हुँदै गइरहेको थियो। उनी अन्नपूर्ण माविबाट +२ अध्ययन गर्न थाले तर पढाइको समय गरिबीको छायाँसँगै बित्यो। कहिल्यै खाजा मागेनन्, कहिल्यै पैसाको गुनासो गरेनन्।

 

उनी सधैं हाँसिरहेका हुन्थे तर त्यो हाँसोभित्र धेरै आँसु लुकेका हुन्थे। घरमा खाजा खाने पैसा नहुँदा पनि उनी मुस्कुराउँथे — अनुहारमा रमाइलो, मनभित्र बेदना।

उनी भन्छन्, “आमाबुबा बूढा हुँदै थिए, मलाई थाहा थियो । अब म बुवाआमाको सहारा बन्नु थियो ।”

देशमा केही गर्न सक्ने सपना बोकेका थिए सुलभ, तर लगानी गर्ने रकम नहुँदा यही माटोमा केही गर्ने सोचाइ सपना बन्न पुग्यो। मिति २०६५ सालमा मलेसिया पुगे बाध्यताले, रहरले होइन। त्यहाँको जीवन चित्रहरूजस्तो थिएन।

बिहान ४ बजे उठेर गर्मीमा काम, साहुको अपमान, चाडपर्वमा टाढाको देश। दशैँ–तिहार जस्ता चाडपर्वमा जब फोनमा बुबाआमाको स्वर सुन्थे “हामी ठीक छौं, तिमी ठिक छौ बाबु ,” त्यही वाक्यले आँखा रसाउँथ्यो। रातको कोठा, निद्राहीन शरीर, रित्तो मन लिएर टोलाउँथे। चाडपर्वमा भुइँमा बस्दा, मन भने नेपालकै आँगन घुम्थ्यो।

“कतिपल्ट त फोन उठाएर केही भन्न मन लाग्थ्यो, तर रुने डरले बोलिनँ,” उनी सम्झिन्छन्।

नौ महिना त्यसैगरी बित्यो, त्यो कुरा म व्यक्त गर्न सक्दिन — आँखा भरी आँसु टिल्पिल पार्दै उनी भन्छन्।
अन्ततः थाकेका भावनाहरू बोकेर, रित्तो हातमा श्रमको पसिना लिएर नेपाल फर्किए।

देशमा केही गर्नु पर्छ भन्ने हुटहुटी थियो, तर लगानी गर्ने रकम नहुँदा मनभरी रहेका चाहना, योजनालाई बिथोल्दै पुनः मिति २०६७ सालमा कतार गए — यो चोटि अझ साहसी बनेर। तर कतार पनि उस्तै — उता पनि अपनत्व हराएको, पराइपनले भरिएको। रात्रिमा कहिलेकाहीँ कोठाका साथीहरू रोइरहेका भेटिन्थे, उनी पनि बोल्दैनथे — मन भित्रभित्रै उस्तै रुन्थ्यो।

“विदेशमा कोही ‘हामी छौं’ भन्ने छैन, सबै आफ्नै पीडा लुकाएर बाँचिरहेका हुन्छन्।”

यहाँ पनि सोचे जस्तो कामसँगै दाम पनि मिलेन उनलाई — कारण थियो, हातमा सिप नभएकोले। जेनतेन वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिरेर केही रकम बचाइ दुई वर्षको कठिन बसाइलाई बिट मार्दै पुनः फर्किए नेपाल — देशमा केही गर्ने इच्छा लिएर।

आत्मनिर्भर बन्ने संकल्पमा उनले भरतपुर–३ स्थित हङकङ बजारमा ४ लाख लगानीमा “ग्रेट वेल फेन्सी” पसल खोले। तर सोचे जस्तो भएन, कारण थियो — अनुभवको अभावले व्यवसाय बन्द भयो।
उनी सम्झन्छन् — फेन्सी पसल बन्द गर्दा गाउँको साथी, नाताले भाइ राजेश पाण्डेको प्रेरणाले भरतपुर–१०, चोबिसकोटीमा एकजना कर्मचारीसहित १ लाख ५० हजार लगानीमा सैलुन खोले — जुन पछि “पपुलर युनिसेक्स सैलुन” बन्न पुग्यो।

यही सैलुनले मात्र होइन, सुलभको जीवनले घुमाउरो मोड लियो। कालिका नगरपालिकामा गाउँको दाजुको जन्ती जाँदा विवाह समारोहमा सुस्मिता भेटिइन्। त्यसपछि सुरु भयो प्रेम — दुबै मिलेर जीवनको योजना बनाउन थाले। सैलुन खोल्न तालिम निधो गरियो — सुस्मिताले रत्ननगरमा ब्युटिसियन र सुलभले भरतपुरमा कपाल काट्ने तालिम लिए। सुलभले भरतपुरको तालिमपछि पुनः १ वर्षको कोस गर्दै काठमाडौं र दिल्लीमा पनि कपाल काट्ने तालिम लिए।

दुई वर्षको प्रेम २०७१ साल मंसिर २५ मा विवाहमा परिवर्तन भयो।

आज उनीहरूका सात वर्षीय छोरा र सात महिनाकी छोरी छन् — सुलभको सपना, जीवन र प्रेरणा।

चोबिसकोटीपछि सिजील्यान्ड र टेलिकम रोडमा दुई सैलुन थपिए तर कोभिडले सबैलाई रोक्यो। चोबिसकोटी र टेलिकम नजिकको व्यवसाय बन्द भयो। घाटा भयो, तर सुलभले आत्मबल गुमाएनन्। एक सैलुनलाई थप व्यवस्थित गरी भरतपुर–१० स्थित CG Landmark मा २५ लाख लगानीमा संचालन भएको सैलुन चलाउँदै छन् — जहाँ ७ जनाले रोजगारी पाएका छन्।

सुलभले ५५०० जनाभन्दा बढीलाई सिप सिकाएका छन्, १५० जनालाई निःशुल्क तालिम दिएका छन्, ५० जनाभन्दा बढी प्रशिक्षार्थीहरू अहिले आफ्नै सैलुन सञ्चालन गर्दै छन् — कोही विदेशमा, कोही देशमै सम्मानका साथ आत्मनिर्भर जीवन जिउँदै।

सामाजिक काममा पनि उनी सधैं अगाडि छन् — स्कुलमा स्टेशनरी वितरण, वृक्षारोपण, वृद्धाश्रममा खाना खुवाउने, रक्तदान, सरसफाइ अभियान।
उनी भन्छन्, “राष्ट्र चेतना संगै, सिप र आत्मसम्मानले अघि बढ्छ।”

राजनीतिमा पनि सुलभको उपस्थिति उल्लेखनीय छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतपुर महानगरपालिका सचिव रहेका उनी पूर्वमन्त्री विक्रम पाण्डेका सक्रिय सचिवका रूपमा समेत काम गरिसकेका छन्।
उनी भन्छन् — “राजनीति दलको लागि होइन, देश र समाजको लागि गर्नुपर्छ।”

आज सुलभ सिग्देल आत्मनिर्भर उद्यमी, प्रशिक्षक, समाजसेवी मात्र होइनन् — परदेशको पीडा भोगेर, आफ्नै माटोमा सिप रोपेर उदाहरण बनेका प्रेरणाका पात्र हुन्। विदेशमा हरेक चाडपर्व एकान्तमा बिताउने उनी अब देशमा सयौँ युवाको सहारा बनेका छन्।
उनले देखाए — आत्मनिर्भरता सपना होइन, कर्म हो।

उनको जीवन आफैंमा एउटा सन्देश हो —

“सिप सिकौं, स्वरोजगार बनौं। माटोमा नै भविष्य छ, विदेश होइन।”

 

सुलभ सिग्देल पपुलर युनिसेक्स सैलुनका संचालकहुन्

Share:

सम्बन्धित समाचारहरु