भदौ २९, चितवन । भरतपुरमा मनी ट्रान्सफर लुट्ने एकजना अटो चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ। भदौ २६ गते दिउँसै भरतपुर(४ स्थित फनपार्क नजिकै रहेको मनी ट्रान्सफरमा कर्मचारीलाई धारिलो हतियार दाउ देखाएर नगद दुई लाख चार हजार २५० रुपैयाँ लुटेका नवलपुरका मीनमान सुनारलाई घटना भएको २४ घण्टामै नियन्त्रणमा लिएको हो।
बा.प्र.०३–००१ ह १२३६ नम्बरको अटो चलाउँदै आएका ४२ वर्षीय सुनार हाल भरतपुर–१६ मा डेरा गरी अटो चलाउँदै आएका थिए। उनलाई अटोमा बसिरहेकै अवस्थामा भरतपुरको चौबीसकोठीबाट पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनको साथबाट नगद १३ हजार ५०५ रुपैयाँ र डेराबाट एक लाख ६७ हजार रुपैयाँ र दुई थान दाउ बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मनी ट्रान्सफरबाट रकम लुटेपछि सुनारले त्यतिबेला लगाएको कपडा र मोटरसाइकलको हेल्मेट भरतपुर–२६ को सिसैस्थित धानबारीमा लुकाएर राखेका थिए। सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।