शिक्षक छनोट परीक्षा विवादमा ३ बुँदे सहमति, माडी नगरपालिकाको तालाबन्दी खुल्यो

चितवन, १८ साउन । शिक्षक छनोट परीक्षामा अनियमितता भएको आरोपबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएपछि माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा गरिएको तालाबन्दी खुलेको छ ।

सोमबार माडी नगरपालिका र थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडीका वार्ता टोलीबीच तीन बुँदे सहमति भएपछि एक सातादेखि जारी तालाबन्दी खुलेको हो ।

सहमति अनुसार छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म नगरपालिकाको दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत सञ्चालन गरिनेछ । त्यस्तै, छानबिन समितिको प्रतिवेदनबाट दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको नगर उपप्रमुख खेमप्रसाद महतोले जानकारी दिनुभयो ।

बैठकले नगर उपप्रमुख महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा शिक्षक महासंघका प्रतिनिधि चन्द्रमणि महतो, शिक्षा विकास तथा समन्वय इकाई चितवनका शाखा अधिकृत रमेश अधिकारी, थारु कल्याणकारिणी सभाका तर्फबाट रामचन्द्र महतो र माडी नगरपालिका प्रवक्ता डण्डपानी पौडेल सदस्य रहनुभएको छ ।

कार्यदललाई शिक्षक छनोट परीक्षासम्बन्धी घटनाको छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।

यसअघि माडी नगरपालिका–९, हनुमानझुलास्थित जनजागृती आधारभूत विद्यालयमा शिक्षक छनोटका क्रममा अनियमितता भएको आरोप लगाउँदै थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडीले माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको थियो ।

छानबिन कार्यदलको प्रतिवेदनपछि दोषी देखिने व्यक्तिमाथि नियमअनुसार कारबाही प्रक्रिया अघि बढाउने सहमति भएपछि तत्कालका लागि तालाबन्दी खोलिएको हो ।

 

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु