चितवन, ७ साउन । – चितवनको कालिका नगरपालिका–९ स्थित शक्तिखोर जंगलमा एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी चौकी जुटपानीका अनुसार मृतक राप्ती नगरपालिका–११ निवासी ५७ वर्षीय कृष्ण बहादुर प्रजा हुन्। प्रजा साउन २८ गते दिउँसो १ बजे कालिका–९ शक्तिखोर बसोबास गर्ने छोरीलाई भेट्न घरबाट निस्किए पनि त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। साउन ३१ गते परिवारजनले प्रहरी चौकी जुटपानीमा निवेदन दिएका थिए।
प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक यमप्रसाद सापकोटाको कमाण्डमा खटिएको टोलीले खोजी गर्ने क्रममा साउन ६ गते राति करिब १०ः५० बजे शक्तिखोर जंगलमा उनको शव कुहिएको अवस्थामा फेला पारेको हो। मृतकको कपडाबाट पहिचान खुलेको र आफन्तले पनि सनाखत गरेका छन्।
स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनास्थल जुटपानी प्रहरी चौकीबाट करिब १९ किलोमिटर उत्तरतर्फ पर्छ। मृतकका छोरा घटनास्थलमा पुगेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
–00–


