भरतपुर । नारायणगढस्थित नारायणी नदीकिनारमा आज (मङ्सिर ३ गते) देखि नारायणी महोत्सव सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा महोत्सव गर्न लागेको हो । १६ दिनसम्म सञ्चालन हुने महोत्सवको बिहीबार दिउँसो बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
बाढीका कारण नारायणी नदीकिनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । महोत्सव सञ्चालनका लागि उपयुक्त नभएको नदीकिनारलाई आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा मेसिनरी तथा जनशक्ति परिचालन गरी सम्याएर व्यवस्थित बनाएको छ ।
रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीले यस वर्षको महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नयाँ संरचना तथा गतिविधि समावेश गरिएको जानकारी दिए । उनका अनुसार महोत्सव परिसरमा पिरामिड शैलीको आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक दृश्य आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुनको व्यवस्था गरिएको छ । आवश्यक अनुमति र सुरक्षा मापदण्ड पूरा गरेर उक्त गतिविधि सञ्चालन गरिने आयोजकको भनाइ छ ।
महोत्सवमा जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल तथा राइड सञ्चालन गरिनेछ । यसका साथै व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार राखिनेछन् ।
महोत्सवले स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्रीवितरण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । नारायणी नदीकिनारलाई पर्यटनसँग जोड्दै भरतपुरसहित समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, पैदलयात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । महोत्सव अवधिभर केही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना गरिनेछ । कन्सर्ट जोनमा प्रवेश गर्न साधारणतर्फ ३०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँको टिकट लाग्नेछ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटबाटै महोत्सव अवलोकन गर्न पाउनेछन् ।
यसअघि मङ्सिर २ गतेदेखि सुरु गर्ने भनिएको महोत्सव तयारीका लागि थप समय आवश्यक परेपछि एक दिन ढिलो गरी मङ्सिर ३ गतेबाट सुरु गर्न लागिएको हो ।
आयोजकले नारायणी महोत्सवलाई भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक विकाससँग जोडिएको साझा उत्सवका रूपमा लिँदै स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणलाई सहभागी भई सफल बनाउन आग्रह गरेको छ ।


