विजय चौधरी । सेतोनेपाल-
चितवन, २१ साउन । आँखा पाक्ने रोगको सक्रमण बढ्दै गएपछि चितवनका अधिकाङस पालिकाहरुमा पठनपाठन बन्द गरिएको छ । भरतपुर महानगर सहित पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका नगरपालिका क्षेत्रमा पठनपाठन बन्द गरिएको हो ।
आँखा पाक्ने रोग एडिनो भाइरस फैलन थालेपछि यहाँका पालिकाहरुले सूचना नै जारी गरेर पठनपाठन बन्दगर्न सम्बन्धित शैक्षिकसंस्थाहरुलाई निर्देशन दिएको हो । खैरहनीले दुईदिन अघिदेखिनै बन्दगर्न निर्देशन दिएको छ भने रत्ननगरमा आज आइतवार देखि तीनदिन विद्यालय बन्दगर्ने निर्णय गरेको छ । यता कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरु केहीदिन अघिदेखिनै बन्द छन भने निजी क्षेत्रका विद्यालयहरु भोलीदेखि बन्दगर्ने तयारी छ । यस्तै भरतपुर भित्रका निजी तथा सामुदायिक विद्यालय सोमवारदेखि विद्यालय बन्दगर्ने तयारी छ ।
आँखा पाक्ने रोग देखिन थालेपछि बालबालिकामा संक्रमण फैलिने खतराको कारण विद्यालय बन्द गर्न लागेको महानगरका शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले बताउनुभयो । वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय महानगरले गरेको छ । स्वास्थ्य सुरक्षालाई ख्याल गरेर भरतपुर महानगरले विद्यालयमा बिदा दिन निर्देशन दिएको हो।


