कालिका, १५ असार । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर) सहयोग कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाले १३ जनालाई विभिन्न सहायता सामग्री वितरण गरेको छ ।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सम्बन्धित व्यक्तिहरुलाई २ लाख ४८ हजार १ सय ५० मूल्य बराबरको सामग्री वितरण गर्नुभएको हो । गुणस्तरियता मापन तथा सामग्री निरीक्षणगरी सम्बन्धित अपाङ्गता भएकाव्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
अपाङ्गता भएका तीनजनालाई सर्जिकल फोल्डिड्ड भएको हिवलचियर, एकजनालाई बच्चाको लागि स्पेशलचियर, एकजनाका लागि ट्राईसाईकल वितरण गरिएको छ ।
यस्तै आवाज कम सुन्ने तीनजनालाई श्रवण यन्त्र र एकजनालाई बैशाखी वितरण गरिएको कालिका नगरपालिकाको महिला बालबालिका तथा जेष्ठनागरिक उपशाखा प्रमुख नानीमाया पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एकजनालाई तीनचक्के ठेलागाठा, २ जनालाई एउटा एउटा कृतिम खुट्टा र थप दुईजनालाई दुवैगोडाका लागि कृतिम खुट्टा वितरण गरिएको हो ।
कालिका नगरपालिकाको समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम(सि.वि.आर) सहयोग कार्यक्रम अन्तर्गत साझेदारीमा सामग्री वितरण गरिएको हो । वितरण गरिएको सामग्रीको जम्मा लागत मूल्यको ३० प्रतिशत रकम सम्बन्धित पाउने व्यक्तिले तिर्नेगरी साझेदारीमा यो सामग्री वितरण गरिएको हो ।
नगर समन्वय समिति तथा अनुगमन समितिका संयोजक समेत रहनुभएकी नगर उपप्रमुख विमला तमाङको अध्यक्षतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, नगर समन्वय समितिको उपाध्यक्ष चन्द्रकुमारी पौडेल लगायतले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेको समस्या र नगरपालिकाले गरिरहेको समन्वयको विषयमा बोल्नुभएको थियो ।








––००––


