काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिरहेको उनको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्याप्छाकीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइनेछ ।
जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । राय सिन्धुलीका हुन् भने थापा दार्चुला घर भएका हुन् ।
जवान थापालाई आन्दोलनकारीहरूले ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटपिट गरी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।
यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि कुटपिटपछि मृत्यु भएको थियो । गुरुङको घर कास्कीमा पर्छ ।

