कलिका, ८ असार । सुनिता प्रजा उमेरले १४ वर्षकी भइन । स्थानीय छेरवाङ आधारभूत विद्यालयमा कक्षा ५ पढ्दा पढ्दै स्कुल छाडेर रत्ननगरको बकुलहर पुगिन । बजार क्षेत्रमा राम्रो शिक्षा पाइने भनेर रत्ननगर बस्ने जीवन श्रेष्ठसँग बकुलहर आइपुगिन । श्रेष्ठको घरमा आठमहिना बसिन । यो बीचमा बकुलहर स्थित बकुलहर माविमा पुगेर कक्षा ३ मा भर्ना समेत भइन । कक्षा तीनको अन्तिम परीक्षा दिएर कालिकाको वडा नं. ११ स्थित छेरवाङ गाउँ (घर ) फर्किन । त्यसपछि फेरि फर्किएर बकुलहर फेरि जान मानेकी छैनन् ।
पढाउँछु भनेर लगेका थिए उनले भनिन– घरको लुगाधुनेदेखि खाना पकाउने सम्मका सबै काम मैलेगर्दापनि गालीखान परेपछि जानैमन लागेन । अहिले सुनिता स्कुल बाहिर छिन् । अर्थात स्कुल जान छाडेकी छिन् । पढ्न त मन लाग्छ यतिठूलो भएर सानो कक्षामा पढ्ने भनेर अरुले मजाक बनाउँलान भन्ने डर लाग्छ सुनिताले थपिन ।
सुनिता जस्तै छेरवाङ गाउँका मात्रै चारजना नानीहरु स्कुल बाहिर छन् । सानुमाया चेपाङ ४ कक्षा पढ्दा पढ्दै स्कुल जान छाडिन् । घरपरिवारको अवस्था कमजोर भएका कारण स्कुल जान छाडेकी हुन । उनि जस्तै शान्ति प्रजापनि अहिले स्कुल जाँदिनन् । यिनीहरु घरमै बाख्रा चराउँदै दिन विताउँछन् । बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत विद्यालय बाहिर रहेका किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्धि तालिम दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा छेरवाङका ४ जना नानीहरु विद्यालय बाहिर रहेको खुलेको हो ।
छेरवाङसँगै पहाडी क्षेत्रका अन्य केही गाउँका बालिकाहरु पनि स्कुल बाहिर रहेको पाइएको छ । स्कुलप्रति विद्यार्थीहरुको रुचि बढाउन सरकारले दिवाखाजा लगायका कार्यक्रम संचालनगर्दै आएको छ । यतिधेरै प्रयासगर्दापनि स्कुलजाने उमेरका बाबुनानीहरु स्कुल बाहिरनै रहेको खबर सुन्दा निकै दुखद् लागेको कालिकाका मेयर विनोद रेग्मीले बताए । छेरवाङका यि चारजना नानीहरुलाई तत्कालै स्कुल जाने वातावरण नगरपालिकाले मिलाउने प्रतिवद्धता जनाए ।
खाना, खाजा सहित स्कुल पठाउने जिम्मा नगरपालिकाले लिन्छ मेयर रेग्मीले भने –‘यिनीहरुलाई कापीकिताब, ड्रेस, झोला लगायत अन्य आवश्यक सामग्री समेत नगरपालिकाले व्यवस्थापन गर्छ । ’ स्कुल जान आउन समस्या भए यिनीहरुलाई होस्टेलमै राखेर भएपनि पढाउने जिम्मा नगरपालिकाले लिन्छ मेयर रेग्मीले भने नगरक्षेत्रभित्रका स्कुल उमेरका कोहीपनि बाबुनानीहरु शिक्षाबाट बञ्चितहुन नपरोस ।
तालिमको अनुगमनगर्न पुगेकी नगरपालिकाकी उपमेयर विमला तमाङले यिनीहरु जस्तै अन्य गाउँमा पनि स्कुल जानबाट बञ्चित भएका बाबुनानीहरु छन भने तिनीहरुको खोजीपनि नगरपालिकालेगर्ने बताईन । स्वास्थ्य, शिक्षा आधारभूत आवश्यकता हुन । यो सुविधाबाट कोहीपनि नागरिक बञ्चित हुनुहुँदैन उनले भनिन–‘यो विषयमा नगरपालिका सबैको अभिभावक हो । हामीले हाम्रो दायित्व र जिम्मेवारी पुरागर्नेछौं ।’ कालिकाको वडा नं. ९, १०, र ११ पहाडी क्षेत्रमा पर्दछ ।
भूगोलको जटिलताका कारण स्कुल जान आउन यहाँका विद्यार्थीहरुलाई समस्यानै छ । यसैलाई आधार बनाएर कालिका नगरपालिकाले बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्कुल बाहिर रहेका किशोरीहरुलाई जीवन उपयोगी सीप तालिम आयोजना गरेको हो । तालिमको अनुगमनगर्न पुगेका मेयर रेग्मी आफैले व्यवहारिक शिक्षासँगै स्थानीय तहले दिने सेवा सुविधाको विषयमा पढाएका थिए । यस्तै किशोरी अवस्थामा आउने शारीरिक परिवर्तनसँगै बढ्दै गएको बालविवाहले निम्त्याउने समस्या र त्यसले पार्ने दीर्घकालिन असरको विषयमा तालिम दिइएको थियो ।
३० जना चेपाङ किशोरीहरु सहभागी रहेको तालिममा विद्यालय नर्स सोनी आचार्य, र कालिका नगरपालिकाको महिला शाखा प्रमुख नानीमाया पौडेलले प्रशिक्षण दिएका थिए ।



–00–


