रेशम सापकोटा
चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित पवित्र स्थल गणेशधाममा वैदिक सनातन हिन्दू धर्म सेवा केन्द्रिय समितिको २४औँ साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि दिनेश कुमार चुके, रहनु भएको थियो अन्य अतिथिहरुमा विभिन्न जिल्लाबाट आएका धार्मिक व्यक्तित्वहरू र स्थानीय धार्मिक समितिका अध्यक्षहरू उपस्थित रहनु भएको थियो ।
सभाको स्वागत मन्तव्य केन्द्रीय कार्यसमितिकी सदस्य गीता रिमालले गर्नु भएको थियो । वाग्लेले उपस्थित सबैलाई समारोहमा हार्दिक स्वागत गर्दै धार्मिक संस्थाहरूको साझा जिम्मेवारी र समुदायको सक्रिय सहभागिताको महत्वमा जोड दिनुभयो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष दामोदर पौडेलले प्रस्तुत गर्नुभयो भने सचिव प्रतिवेदन सचिव विनोद कुमार पौडेलले पेश गर्नुभयो, जसमा समितिको आर्थिक स्थिति, प्रगति र आगामी योजनाहरूको विवरण समेटिएको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि दिनेश कुमार चुकेले पानसमा दीप प्रज्वलन गरी गर्नु भयो। यस अवसरमा प्रमुख अतिथिले मन्तव्य दिँदै भन्नुभयो, यो धार्मिक संस्था मेरो वा तेरो संस्था होइन, यो हाम्रो साझा दायित्व हो। यस संस्थामा बस्नु मात्र पर्याप्त छैन, हामीले यस स्थलप्रति अपनत्व देखाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहनुपर्छ। गणेशधाम हाम्रो गहना जस्तै मूल्यवान धार्मिक स्थल हो। हामीले मिलेर धार्मिक कार्यक्रम सञ्चालन र सामाजिक काममा हातेमालो गर्नुपर्छ। हाम्रो सम्बन्ध सधैं नङ–मासु जस्तै मजबुत र अविच्छेद्य हुनुपर्छ।”
सभामा धार्मिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने उपस्थित सबैले कार्यक्रमको उच्च प्रशंसा व्यक्त गरे। कार्यक्रम सञ्चालन सचिव विनोद कुमार पौडेलले गर्नुभयो।

वैदिक सनातन हिन्दू धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष तथा कार्यक्रममा सभापति उमाकान्त शर्माले सम्पूर्ण कार्यक्रमको सारांश र निचोड प्रस्तुत गर्दै सबैलाई धार्मिक स्थलको संरक्षण, सामाजिक उत्तरदायित्व र समिति प्रति अपनत्वको महत्वमा जोड दिनुभयो। उनले उपस्थित सबैमा साझा दायित्व र सहकार्यको सन्देश प्रवाह गर्दै गणेशधामलाई हाम्रो सांस्कृतिक र धार्मिक सम्पदाको रूपमा अघि बढाउन आवश्यक कदम चाल्न आग्रह गर्नुभयो।

—00–

