बाघको आक्रमणमा परी घाँस काट्न गएका वृद्धको मृत्यु

 -सन्तकुमार चौधरी | सेतो नेपाल

चितवन, २७ असार । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही वडाका ७२ वर्षीय पदमबहादुर राना मगर आज बिहान साढे सात बजे घाँस काट्न जंगल गएका थिए। उनी दिउँसो २ः४० बजे जंगलभित्र बाघले खाएको अवस्थामा मृत फेला परेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।

 


मगरसँगै अन्य चार जना पनि घाँस काट्न जंगल गएका थिए। उनीहरू घाँस काटिसकेपछि फर्किन लाग्दा पदमबहादुर केहीबेर घाँसका भारी मिलाउने भन्दै केही समय त्यहीँ बसेका थिए। त्यही क्रममा बाघले आक्रमण गरी मगरलाई करिब ५ सय मिटरभित्र जंगलतिर तानेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मगरको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव भेटिएलगत्तै स्थानीयवासी, नेपाली सेना, प्रहरी, निकुञ्जका कर्मचारी र संरक्षणकर्मीहरूको टोली घटनास्थल पुगेको थियो। खोजीमा जेसिभी र हात्ती समेत प्रयोग गरिएको थियो।

मृतक मगरका एकमात्र छोरा केही वर्षअघि मलेसिया रोजगारीका क्रममा निधन भएका थिए। घरमा श्रीमती मात्रै रहेकी छिन्, जो शारीरिक रूपमा अशक्त छन्। मगरले पालिएका दुईवटा भैँसीका लागि दैनिक घाँस काट्ने गरेका थिए।

स्थानीय कुमरोज सामुदायिक वनले केही शुल्क लिएर टिकटमार्फत घाँस काट्न अनुमति दिने गरेको छ। मगर पनि आज बिहान टिकट लिएरै घाँस काट्न गएका थिए।

 

घटनापछि आक्रोशित स्थानीयवासीहरूले बाघलाई नियन्त्रणमा नलिएसम्म शव नउठाउने अडान लिएका थिए। केही समय तनावपूर्ण स्थिति बने पनि चितवन राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि स्थानीयवासीहरू शान्त भएका थिए।

घटनास्थलमा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती, वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुषाल, सुरक्षाकर्मी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

निकुञ्ज प्रशासनले बाघको खोजी र नियन्त्रणमा लिन प्राविधिक सहितको टोली परिचालन गरेको छ ।

 

Share:

सम्बन्धित समाचारहरु