पितृपक्ष समापन, सोमबारदेखि दुर्गापक्ष सुरु

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण औँसीका दिन समाप्त हुने परम्परा छ । यस अवसरमा दिवङ्गत पितृको सम्झनामा विधिपूर्वक तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै कारण यसलाई सोह्र श्राद्ध पनि भनिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म श्राद्ध गर्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदाका दिन आमाको बुबा अर्थात् मातामहको श्राद्ध गर्ने परम्परा सोमबार पालना गरिनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कुनै कारणले तोकिएको दिन श्राद्ध गर्न नसकिएमा आज औँसीमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ । अझै गर्न नसकेमा आपत्कालीन अवस्थामा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने उल्लेख छ । त्यस्तै कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन, वा वृश्चिक सङ्क्रान्तिसम्म पनि श्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रमा उल्लेख छ ।

श्राद्ध नगरे अक्षम्य दोष लाग्ने शास्त्रीय वचनका आधारमा हिन्दू धर्मावलम्बीले यो कर्म श्रद्धापूर्वक गर्ने गरेका छन् । धर्मग्रन्थअनुसार पितृपक्षमा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड र पानीको आशमा मर्त्यलोकमा अवतरण गर्छन् भन्ने मान्यता छ । यस अवसरमा श्राद्ध नगरे पितृ असन्तुष्ट भई सन्तानलाई श्राप दिने विश्वास छ ।

काठमाडौंको गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको सङ्गमस्थल बेत्रावती, चितवनको देवघाट, नवलपरासीको त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धापूर्वक श्राद्ध गर्ने भक्तजनको ठूलो भीड लागेको छ ।

पितृपक्ष समाप्त भएपछि दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्षको आरम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु