जुटपानी खानेपानी संस्थाकाे अध्यक्षमा पुनः हाेमबहादुर गुरूङ निर्वाचित

कालिका, १५ जेठ । जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा दाेस्राे पटक अध्यक्षमा होमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

संस्थाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी चार उम्मेदवारलाई पछि पार्दै एमालेको प्रतिनिधिको रुपमा चुनावी मैदानमा होमिएका गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको मत मध्ये गुरुङले ५ सय ६० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा ४ सय १५ मतका साथ राजेन्द्र श्रेष्ठ, सचिवमा ३ सय ६५ मतका साथ सन्तोष भण्डारी, कोषाध्यक्षमा ४ सय ८३ मतका साथ रिता भट्ट पाठक, सहसचिवमा ३२८ मतका साथ बसन्धरी न्यौपाने विजयी भएको निर्बाचन समितिका संयोजक लालुप्रसाद दाहालले जानकारी दिए ।

त्यसैगरी लेखा समिति संयोजकमा पनि एमालेका प्रतिनिधि बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । उनले कुल खसेको मत मध्ये ४ सय ३७ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यमा ४ सय २९ मतका साथ रामलाल कुमाल र ४ सय १६ मतका साथ बोधराज थपलिया, अनुमन समितिको संयोजकमा ३ सय ६६ मतका साथ कृष्णप्रसाद दाहाल र सदस्यहरुमा ३७३ मतका साथ सन्तबहादुर पाख्रिन, ४ सय १२ मतका साथ कल्पना दमै निर्वाचित भएका छन् ।

वडा नं १ को वडा संयोजकमा ४८ मतका साथ धनबहादुर तामाङ र महिला सदस्यमा ४८ मतका साथ शान्तिमाया थिङ, वडा नं ६ को वडा संयोजकमा २ सय ४६ मतका साथ गीताराम भेटवाल र महिला सदस्यमा २०९ मतका साथ सरस्वती सुवेदी, वडा सदस्यमा २०६ मतका साथ पुष्पराज भट्टराई र २४५ मतका साथ सुजन थापा,वडा नं ७ को वडा संयोजकमा २०५ मतका साथ द्रोर्णचार्य अधिकारी र महिला सदस्यमा १९२ मतका साथ मीनाकुमारी पौडेल तथा वडा सदस्यमा १८५ मतका साथ गगनसिंह गुरुङ निर्वाचित भएका छन् ।

कालिका नगरपालिकाको वडा नम्बर–१,६ र ७ का स्थानीय मुख्य मतदाता रहेकोमा केही वडा–२ र ८ का समेत गरी कुल २ हजार ३ सय ६० जना मतदाता यस संस्थामा रहेका थिए । कुल २० वटा पदका लागि ८३ जनाको उमेदवारी रहेको थियो । कुल १ हजार ६ सय ४४ जनाले मतदान गरेका थिए । २०६५ सालमा स्थापना भएको यस खानेपानी संस्थाको नेतृत्व हत्याउनका लागि अध्यक्षमा ५ वटा राजनीतिक दलका प्रतिनिधिले उमेदवारी दिए ।

जसमा नेकपा एमालेबाट होमबहादुर गुरूङ, नेपाली कांग्रेसबाट यदुप्रसाद खतिवडा, माओवादी केन्द्रबाट सुवास खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमाकान्त बराल र राप्रपाबाट सोमबहादुर खड्का अध्यक्षको प्रतिस्पर्धामा थिए । संस्थाको नयाँ नेतृत्वका लागि जेठ १३ गते निर्वाचन भएको थियो ।

Share:

सम्बन्धित समाचारहरु