दार्चुला, २२ बैशाख । ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार भेटिएको थियो ।
तीन जनाको शव ब्यास गाउँपालिका-१ छाङरुबाट बिहीबार भारतीय भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । भारतीय तावाघाट(लिपुलक जोड्ने सडकखण्डको नज्याङ क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा अवरोध भएको उनले बताए । झशव साँझ साढे ६ बजे सदरमुकाम खलंगा ल्याइपुर्याइएको हो, उनले भने, पोस्टमार्टमपछि आफन्तहरूको जिम्मा लगाइने छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव सदरमुकाम ल्याइएको हो । हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिमपहिरो खस्दा ५ जना बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए । –00–

