काठमाडौं, १३ बैशाख। अहिले अर्थ मन्त्रालयले निकासा गरेको पैसाले तलब र पेन्सन दिन नै नसक्ने अवस्था सिर्जना भएको छ । चैत महिनामा नेपाल प्रहरी र अवकासप्राप्त शिक्षकले समयमा तलब र पेन्सन पाएनन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेल मंगलबार अर्थ मन्त्रालयमा पुगेर शिक्षकहरुको चैतको पेन्सन दिनको लागि चाहिने रकम निकासा गरिदिन आग्रह गरेका थिए ।
अर्थ मन्त्रालयबाट फर्किएपछि बाह्रखरीसँगको कुराकानीमा खरेलले भने, “५२ हजार अवकासप्राप्त शिक्षक छन्, जसमा ३० हजारको पेन्सन चैतमा समयमा गए पनि २२ हजारको गएन ।” उनले ३ अर्ब बजेट थप निकासा भएको हुँदा चैत र वैशाखको पेन्सन दिन सकिने जानकारी दिए ।
“अर्थ मन्त्रालयले थप पैसा पठाएको छ, चैतको बाँकी भएको र वैशाखको पेन्सन समयमा जान्छ,” खरेलले भने, “जेठपछि राजस्व बढ्ने अनुमानको आधारमा पेन्सन दिन असजिलो नहोला भन्ने आश्वासन अर्थले दिएको छ ।” यस्तै समस्या नेपाल प्रहरीले पनि भोग्यो । चैतमा करिब ५० प्रतिशत प्रहरीले समयमा तलब पाउन सकेनन् । अहिले भने अर्थले पैसा पठाएको छ । सरकारले गतवर्ष बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।
सो अनुपातमा भने तलब र पेन्सनमा बढेको रकम बढाएर पठाएको थिएन । अर्थ मन्त्रालयले स्रोत अभावको कारण बढेको रकम समयमा नपठाएको कारण तलब र पेन्सन प्रहरीले अवकासप्राप्त शिक्षकले नपाएका हुन् । अर्थ मन्त्रालयका बजेट शाखामा कार्यरत कर्मचारीहरुलाई अहिले पर्ने दबाब नै स्रोत व्यवस्थापनको हो । चालु आर्थिक वर्षको चालु खर्चलाई धान्ने स्रोत अहिले सरकारसँग छैन । गत वर्षसम्म चालु खर्च राजस्वले धान्ने गरेको थियो ।
तर यो वर्ष चालु आर्थिक वर्ष सुरु भएदेखि नै राजस्वको तुलनामा चालु खर्च बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म सरकारले ६ खर्ब ९९ अर्ब राजस्व उठाएको छ । जबकि यो समयमा सरकारको चालु खर्च सात खर्ब १८ अर्ब छ । १९ अर्ब रुपैयाँले राजस्वको तुलनामा चालु खर्च बढी छ ।
जबकि अघिल्ला वर्षहरुमा चालु खर्चको तुलनामा राजस्व बढी हुने गरेको थियो । गतवर्ष वैशाखमा यही समयमा ८ खर्ब ११ अर्ब राजस्व उठेको थियो । चालु खर्च ६ खर्ब ७१ अर्ब थियो । गतवर्षको तुलनामा राजस्व एक खर्बभन्दा बढीले घटेको छ । यसरी राजस्व घट्नुको प्रमुख कारण आयात घटेको कारण हो । सरकारले विदेशी मुद्रा जोगाउनको लागि आयातमा कडाई गरेको थियो । जसको सोझो प्रभाव राजस्वमा देखियो ।
आयातमा आधारित राजस्वमा आयात घटेपछि आन्तरिक क्रियाकलाप समेत सुस्ताएको कारण आयकरमा समेत यसको असर देखिएको छ । बैंक तथा वित्तीय संस्थाको खराब ऋण बढेको कारण नाफा खासै बढ्न सकेन भने बढी कर तिर्ने मदिरा तथा सुर्तीजन्य पदार्थको समेत खपत कम भएको देखिएको छ ।
तर यतिमात्र राजस्व घट्नुको कारण होइन । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका जनार्दन शर्माको समयमा अर्थ मन्त्रालयको संरचना नै बिग्रियो । भन्सार नतिरेर सामान ल्याउने क्रम साउनदेखि पुससम्म निकै बढ्यो । भन्सार कार्यालयहरुसँगको सेटिङमा कपडादेखि चामल भन्दै चिनीसम्म भित्र्याइएको पाइएको छ ।
यसको जानकारी अर्थ मन्त्रालयमा भए पनि सेटिङमा भएकाले यसमा कुनै अनुसन्धान नै नभएको उच्च अधिकारी बताउँछन् । तत्कालीन अर्थमन्त्री शर्मा तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा खासगरी साउनदेखि पुससम्म अवैध रुपमा भारतबाट तस्करीबाट आउने सामान बढेको थियो । अहिलेका अर्थमन्त्री डा। प्रकाशरण महतले राजस्वको लक्ष्य पूरा गर्नको लागि भन्सार कार्यालयका कर्मचारी र प्रमुखलाई कडा निर्देशन दिएका छन् । तर सेटिङको जालो भत्काउन भने महतलाई निकै चुनौती छ ।
गत शनिबार बाह्रखरीले आयोजना गरेको ‘आर्थिक परिसंवाद’ कार्यक्रममा अर्थमन्त्री महतले पैसा नभएको हुँदा भत्ता कटौतीदेखि आवश्यक नभएका खर्च कटौती हुने बताएका थिए । तर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’भने अयोग्य लडाकुलाई यही बेला पैसा बाँड्ने तयारी गरेका छन् ।
“अर्थ मन्त्रीलाई पैसा नभएको र अर्थतन्त्रमा स्रोतको दबाबको बारेमा जानकारी छ,” अर्थ मन्त्रालयका एक सहसचिवले भने, “उहाँसग रहेको बाध्यताले बुझाउन सक्नु भएको छैन ।” सरकार अहिले गतवर्ष खर्च नभएको पैसा तथा ऋणमा चलिरहेको छ । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा मात्र एक खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउने छ । चालु आर्थिक वर्षमा दुई खर्ब ६६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य सरकारले राखेको थियो ।
नवीकरण अन्तर्गत सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब भन्दा बढी रकम आन्तरिक ऋण उठाएको देखिन्छ । तलब र पेन्सन नै दिन कठिन परेको सरकारले विकास निर्माणमा भएको खर्चको भुक्तानी समेत दिन सकेको छैन । निर्माण व्यवसायीहरु अहिले सरकारसँग ८० अर्ब लिन बाँकी रहेको बताउँछन् । वैशाखदेखि असारसम्म थप विकास निर्माणको काम हुने हुँदा यो रकम अझै बढ्ने देखिन्छ । सरकारले निर्माण व्यवसायीको भुक्तानी रोक्दा आर्थिक क्रियाकलाप बढेको छैन । अर्थतन्त्र एक किसिमले ठप्पजस्तै छ ।–00–

