गैँडाकोट, ६ भदौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका ठहरिएको छ । नवलपुरका सबै स्थानीय तहहरुलाई पछि पार्दै गैँडाकोट नगरपालिकाले जिल्लामा आफुलाई पहिलो स्थानमा उभ्याउन सफल भएको हो । गण्डकी प्रदेशका स्थानीय तहहरुमध्ये गैँडाकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिका प्रदेशकै पहिलो स्थानमा पर्न सफल भएका छन् । गैँडाकोट र बेनीले समान ८७ अंक प्राप्त गरेका छन् ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार मन्त्रालयले देशभरीका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो।मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र सूचक तोकेको थियो।
स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा जिल्ला र प्रदेशकै प्रथम नगरपालिकाको रुपमा पर्न सफल भएको भन्दै गैँडाकोट नगरपालिका प्रमुख प्रशासकीय झविन्द्र खनालले नगरप्रमुखको समन्वय कर्मचारीहरुको मेहनतका कारण सफलता मिलेको बताउनुभयो ।
गैँडाकोटले शासकीय प्रवन्धमा ७।७५, संगठन तथा प्रशासनमा ६,बार्षिक बजेट तथा योजना तर्जु व्यवस्थापनमा ९।५,वित्तिय एवंम् आर्थिक ब्यवस्थापनमा १० सेवा प्रवाहमा १४।५,न्यायीक कार्यसम्पादनमा ७ ,भौतिक पूर्वाधारमा ११।५,समाजिक समावेशीकरणमा ७।५ र वाताबरण संरक्षण तथा विपत् व्यवस्थापनमा ८ अंक सहित कुल ८७ अंक प्राप्त गरेको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजे तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो।–00–