देशभरका ६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा न्युन

-सुरेन कुँवर
 चितवन, १ बैशाख ।  । देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा न्युन देखिएको छ । महालेखापरीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदन ०७९ अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो । भरतपुरको बेरुजु ०.०९ प्रतिशत मात्रै छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ऐन, कानुन, कार्यविधि, मापदण्ड, बमोजिम खर्च गर्ने परिपाटीले कम बेरुजू आएको बताउनुभयो । सुदृढ अन्तरिक नियन्त्रण प्रणाली, पारदर्शी कार्यशैली, तहगत अनुगमन संयन्त्र बनाएकाले न्युन बेरुजु आएको उल्लेख गर्नुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले गतिशिल, पारदर्शी एवम् स्वच्छ नेतृत्व र लेखा  समितिको कृयाशिलताका कारण न्युन बेरुजु आएको जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले बेरुजु फर्छौयोटको लागि महानगरपालिकाले बेरुजु फर्छौयोट अभियान नै सञ्चालन गरेको छ । जसको लागि फोकल पर्सन तोकी बेरुजु फर्छौयोटको काम  गर्दै आएको छ । आगमी दिनमा बेरुजु फर्छौयोट सेल स्थापना गरी अगाडि  बढ्ने महानगरपालिका प्रमुख दाहालले बताउनुभयो  । सेलले विगत आर्थिक वर्षको सबै बेरुजुलाई फर्छौयोट गर्दै जाने महानगरपालिकाले जनाएको छ । कार्यालयको तथ्याङक अनुसार ६ महानगरमध्ये वीरगञ्ज महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ । वीरगञ्ज महानगरपालिकाको सबैभन्दा बढी ९.१२ प्रतिशत रहेको छ ।
वीरगञ्जपछि ललितपुर महानगरमा धेरै बेरुजु रहेको छ । ललितपुरको ७.०४ प्रतिशत बेरुजु देखिएको छ । उता पोखराको ५.५४ प्रतिशत, विराटनगरको ३.९२ प्रतिशत र काठमाडौँको २.६० प्रतिशत रहेको छ । महानगरको समग्र बेरुजु ४.३२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ६ महानगरपालिको ६७ अर्ब २१ करोड ४० लाख लेखा परीक्षण रकममध्ये यसवर्षको बेरुजु २ अर्ब ९० करोड १३ लाख रुपैयाँ रहेको छ ।–00–
––––

Share:

सम्बन्धित समाचारहरु