सुशिला कार्कीको शपथपछि आजै शीतल निवासमै क्याबिनेट बैठक बस्ने

काठमाडाैं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशिला कार्कीलाई शपथ ग्रहण गराउने तयारी भइरहेको छ। स्रोतका अनुसार उनको शपथ आज राति ९ बजे हुने भएको छ। यसका लागि राष्ट्रपति कार्यालयले आवश्यक पत्र तयार गरिरहेको जनाइएको छ।

शपथ ग्रहणपछि शीतल निवासमै पहिलो क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ। स्रोतका अनुसार उक्त बैठकले संकटकालको सिफारिस गर्नेछ। त्यसपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि संसद विघटन हुने सम्भावना रहेको जनाइएको छ। यो कदम संवैधानिक विशेषाधिकारअनुसार विषम परिस्थितिमा राष्ट्रपतिले गर्न सक्ने व्यवस्था भित्र पर्ने बताइन्छ।

आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीशसमेत भएकी थिइन्। यससँगै उनी देशको इतिहासमा दुईवटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन्।

अन्तरिम प्रधानमन्त्रीसँगै अन्य कम्तीमा दुई मन्त्रीले पनि आजै शपथ लिने भएका छन्। तीमध्ये एकजना जेन जेड आन्दोलनका प्रतिनिधि, जसले बालेन शाहको सल्लाहकारको भूमिकामा काम गरेका थिए, मन्त्री बन्ने भएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु