पिठुवा खानेपानी उपभोक्ता संस्थाको १५औं स्थापना दिवस मनाइयो

रत्ननगर, १०वैशाख । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मंगलबार औपचारिक कार्यक्रमका साथ आफ्नो १५औं स्थापना दिवस मनाएको छ।

रत्ननगर नगरपालिकाका वडा नम्बर १४, १५ र १६ का स्थानीयलाई खानेपानी वितरण गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि उपमेयर यादव प्रसाद पाठक थिए। कार्यक्रममा २५ घरधुरीलाई निःशुल्क धारा तथा मिटर जडान गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई सम्मान तथा सामुदायिक विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण गरिएको थियो।

संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार रत्ननगर नगरपालिकाको अनुदान सहयोगमा वितरण गरिएको निःशुल्क धारा र मिटरले सामाजिक समावेशीता र पहुँचमा सघाउ पुर्‍याउने विश्वास लिइएको छ।

संस्थामा उत्कृष्ट कार्य गरेका मिटर रिडर केदारनाथ तिवारीलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत वडा नं. १५ स्थित विन्देश्वरी आधारभूत विद्यालयलाई साबुन, श्रप, मञ्जन र ब्रस प्रदान गरिएको थियो।

युर्निलिभर नेपालले संस्थालाई उपलब्ध गराएको १०० किलो श्रप र १५ कार्टुन साबुन सामुदायिक विद्यालयमा वितरण गरिने कार्यक्रम छ।

संस्थाले तीन वडाका सबै घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको पिठुवा सहलगानी खानेपानी आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो। वडा नं. १६ खैरेटीमा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको आयोजनामा ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की, पाइपलाइन विस्तार, च्याम्बर, गेटभल्भ र गार्ड हाउसको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार २०० घरधुरीमा सुरक्षित खानेपानीको पहुँच पुग्नेछ। यस्तै, नगरपालिकाको चालु आर्थिक वर्षको योजना अन्तर्गत ४ हजार ५०० मिटर पाइपलाइन विस्तारको काम पनि सुरु गरिएको छ।

वि.सं. २०६८ मा स्थापना भएको संस्थाले हालसम्म ४ हजार ७२३ उपभोक्तालाई सेवा दिँदै आएको छ। संस्थाले ५० प्रतिशत अनुदानमा २६४ सुकुमबासी तथा विपन्न परिवारलाई धारा जडान गरिसकेको छ।

संस्थाले दैनिक ३० लाख लिटर पानी वितरण गर्दै आएको छ भने वार्षिक आम्दानी १ करोड ४६ लाख रुपैयाँ र खर्च कटाएर ३६ लाख रुपैयाँ नाफा गरेको कोषाध्यक्ष विमला बन्जराले जानकारी दिइन्। कार्यक्रममा उपमेयर पाठकले पूर्वाधार विकाससँगै खानेपानीको मुहान संरक्षणमा पनि जोड दिनुपर्नेमा जोड दिए। उनले जलबायु परिवर्तनको प्रभावले मुहान खुम्चिदै गएको भन्दै जलधार तथा सिमसार क्षेत्रको सरसफाई र अतिक्रमण नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रम अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, सचिव रुपेश तिवारीको सञ्चालन र उपाध्यक्ष तुलबहादुर रायमाझीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा, पूर्व वडाध्यक्ष हुमनाथ लामिछाने, कार्यपालिका सदस्य सानु भण्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु