एनपीएल–२ : पाँच विदेशी सहित बलियो स्क्वाडसहित चितवन राइनोज तयार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सहभागी आठ टिममध्ये चितवन राइनोजले यो सिजनका लागि बलियो टिम घोषण गरेको छ। एकसिंगे गैँडालाई प्रतीक मानिएको यो टिम चितवन मेडिकल कलेजको स्वामित्वमा सञ्चालन हुँदै आएको छ।

टिमका मुख्य प्रशिक्षक कलाम अली रहेका छन् भने कुशल मल्ल मार्की खेलाडी तथा कप्तानका रूपमा जिम्मेवारी सम्हाल्दैछन्।

पाँच विदेशी खेलाडीको समावेश

चितवनले यसपटक पाँच विदेशी खेलाडी टिममा भित्र्याएको छ।
समावेश भएका विदेशी खेलाडीहरू—

  • रवि बोपारा

  • सोहेल तान्विर

  • डेविड मलान

  • सैफा जैब

  • अल्पेश रामजानी

पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका बोपारा र तान्विरलाई यसपटक पनि निरन्तरता दिइएको छ। बोपाराले गत वर्ष ८ इनिङमा २८६ रन बनाएका थिए भने तान्विरले १४ विकेट लिएर तेस्रो शीर्ष बलर बनेका थिए।

रिटेन तथा नयाँ अनुबन्ध

चितवनले दोस्रो संस्करणका लागि कुशल मल्ल, कमलसिंह ऐरी, रिजन ढकाल, देव खनाल, दीपक बोहोरा र अमर सिंह रौटेलालाई रिटेन गरेको छ।

अक्सनबाट विपीन रावल, रञ्जित कुमार र विपीन आचार्यलाई टिममा सामेल गरिएको छ। साथै, गौतम केसी, अर्जुन साउद र सौगात ढकाललाई पनि अनुबन्ध गरिएको छ।

हेर्नलायक खेलाडी

चितवनका प्रमुख हेर्नलायक खेलाडीमा इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा पर्छन्। उनले इंग्ल्यान्डको घरेलु क्रिकेटमा करिब १० हजार रन बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनका २,६९५ रन छन्।

त्यसैगरी, नेपाली राष्ट्रिय टिमका ब्याटिङ अलराउन्डर कुशल मल्ल पनि यस सिजन टिमका मुख्य आकर्षण हुनेछन्। युवा प्रतिभा देव खनाल, बलर रिजन ढकाल, कमलसिंह ऐरीको उपस्थिति पनि चितवनलाई अझ बलियो बनाएको छ।

गत वर्षको प्रदर्शन

चितवन राइनोजले अघिल्लो वर्ष एनपीएलको प्ले–अफ यात्रा तय गरेको थियो। लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको टिम कर्णाली याक्ससँग २१ रनले पराजित हुँदै बाहिरिएको थियो।

लिग चरणमा चितवनले जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।
तर विराटनगर, कर्णाली याक्स र लुम्बिनी लायन्ससँग हार बेहोर्नुपरेको थियो।

यो सिजन बलियो स्क्वाडसहित टिम मैदान उत्रिने भएकाले चितवनबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु