सिमसार क्षेत्र जोगाउन संरक्षणकर्मीहरुको चासो, विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई

चितवन १९, माघ । विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ।ुआजको आवश्यकता सिमसारको पुनर्स्थापनाु नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो। मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको खड्गदल गणको गुल्म मेघौलीअन्तर्गत सुकिभार, ध्रुब, भिम्ले र गुल्म हेडक्वाटरमा कार्यरत नेपाली सेना, निकुञ्जको मेघौली रेञ्जपोष्टका कर्मचारी, नेचर गाइड एसोसिएशनको मेघौली घडगाई उपसमिति, राधाकृष्ण सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह, थारु सामुदायिक होमस्टेका प्रतिनिधि, स्थानीयबासी सहभागी थिए।

नदीले उपल्लो तटीय क्षेत्रबाट बगाएर ल्याएको प्लास्टिकजन्य वस्तुका कारण पर्यावरणमा असर परेकाले बेला(बेलामा सरसफाई गर्ने गरेको मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए। उनले नदीमा बगेर तल्लो तटीय क्षेत्रमा थुप्रिएको प्लास्टिकजन्य फोहोरले घडियाल, मगर गोही, बाघ, गैंडालगायतका वन्यजन्तुको बासस्थानमा असर परिरहेको बताए।

नेचर गाइड एसोसिएसनको मेघौली घडगाई उपसमितिका अध्यक्ष मनेषकुमार लिम्बुले सिमसार दिवस, वातावरण दिवस, वन्यजन्तु सप्ताह जस्ता अवसरमा स्थानीय सरोकारवालाको अग्रसरतामा नदी क्षेत्रमा सरसफाई गर्ने गरेको बताए।

नदीमा जथाभावी फोहोर फाल्नेक्रम बढेको छ। हेटौंडा र त्यसभन्दा माथिको फोहोर पनि यहीँसम्म आइपुग्ने गरेको छ। सौराहा, पटिहानी क्षेत्रका पर्यटन व्यवसायीलेसमेत फोहोर फाल्ने ठाउँ नदीलाई नै बनाएका छन्,ु लिम्बूले भने, वन्यजन्तुले प्लास्टिक खाइराखेको देखेर पर्यटक पनि दंग पर्छन्।

उनले नदी, वन र वन्यजन्तुलाई देखाएर राजश्व लिने गरेपनि सरसफाईमा सरकारी निकायको ध्यान पुग्न नसकेको बताए। सरसफाई कार्यक्रममा मेघौलीमा रहेका होटल बाराही, मेघौली सेराई, होटल साराङ, चितल लजले पनि सहयोग गरेका थिए। नदी र आसपासमा भेटिएको प्लास्टिकजन्य फोहोर होटल बाराहीले व्यवस्थापन गर्ने उक्त होटलका अपरेशन म्यानेजर सुवास गुरुङले बताए।

सिमसार दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले पनि अन्तर्क्रिया कार्यक्रम गरेको थियो।-सेतोपाटी

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु