भरतपुर । पूर्वी चितवनको खैरहनीमा आयोजना हुँदै आएको खिचरा महोत्सव यो वर्ष पुस २८ गतेदेखि माघ ४ गते सम्म हुने भएको छ । यस अघि पुस २९ गतेदेखि माघ ९ गते गर्ने तयारी थियो । दुईवटा महोत्सव एउटै समयमा आयोजना हुन थालेपछि जिल्ला प्रशासनले सयम अवधि घटाउन खिचरा महोत्सव आयोजकलाई प्रस्ताव गरेको थियो । सोही अनुसार खिचरा महोत्सवको समय अवधि ११ दिनवाट ७ दिन निर्धारण गरिएको हो । खिचरा महोत्सवले माघ ४ गते सम्मका लागि महोत्सव संचालनगर्ने अनुमति समेत पाइसकेको छ ।
खैरहनी उद्योग बाणिज्य संघले पनि पुस २८ गतेदेखिनै माघ ८ गते सम्म महोत्सव संचालनगर्ने निर्णय गरेपछि दुई आयोजक संस्थाबीच विवाद चुलिदै गएको थियो । प्रमृुख जिल्ला अधिकारीले उद्योग बाणिज्य संघ चितवनको पहलमा दुवै आयोजक संस्थबीच मिलेर जानका लागि दुईपटक सम्म वार्ता बसेपनि निकास निस्किएन ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको उपस्थितिमा आइतवार बसेको बैठकले खिचरा महोत्सवलाई महोत्सव आयोजनागर्ने अनुमति दिएको हो । आदिवासी थारु समुदायको जातीय पहिचान र संस्कृति, भेषभुषा, खाना लगायतका विषय जोडिएकाले पनि खिचरा प्राथमिकतामा परेको हो । खिचरा महोत्सव हुन लागेको यो आठौं पटक हो । उता उद्योग बाण्ज्यि संघ खैरहनीले भने अझै सम्म महोत्सवगर्ने अनुमति पाइसकेको छैन । अझैपनि पुरानै अडामा उद्योग बाणिज्य संघ खैरहनी छ ।