खिचरा महोत्सव : भलिबल र कराँतेको पहिलो चरणको खेल सम्पन्न

"१२० जनाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण"

खैरहनी । खिचरा महोत्सवमा जारी भलिबल प्रतियोगिताको पहिलो चरणको चार खेल सम्पन्न भएको छ। खैरहनी–९, सैनिक स्कुल सेक्युरिटी ग्रुप, एपिएफ भण्डारा र माडी नगरपालिकाले क्रमशः इन्द्र टोल खैरहनी–३, नवज्योति युवा क्लब राप्ती–८, लामा स्पोट्र्स राप्ती–३ र कालिका सिर्जनशील राप्ती–८ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन्। त्यस्तै सैनिक स्कुल सेक्युरिटी ग्रुप र रूपिटर स्टार रसौलीबीच दोस्रो चरणको खेलमा सैनिक स्कुल सेक्युरिटी ग्रुपले जीत हासिल गरेको छ। शनिबार हुने दोस्रो चरणको सम्पूर्ण खेल सम्पन्न भई शनिबार नै फाइनल हुने शिक्षा तथा खेलकुद समितिका संयोजक धनवीर चौधरीले जानकारी दिए।

त्यसैगरी शुक्रबारबाट सुरू भएको सितोरियो कराँते प्रतियोगिताको पनि पहिलो चरणका खेल सम्पन्न भएका छन्। फाइनलका लागि शनिबार सबै समूहका खेल हुने कराँते प्रतियोगिताका संयोजक जीवन महतोले बताए। मञ्चतर्फको कार्यक्रममा भने शुक्रबार दाङ र कैलालीका थारू सांस्कृतिक भेषभूषा प्रदर्शन गरिनुका साथै गायिका लक्ष्मी राना थारूले गीत गाएकी थिइन्। कैलालीकी गायिका लक्ष्मीको गीतमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिए।

१२० जनाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

आठौं खिचरा महोत्सव परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा शुक्रबार दोस्रो दिन १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। वरिष्ठ पेट, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर गौरीराम महतोको उपस्थितिमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा आँखा शिविरसमेत सञ्चालन महोत्सवको स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी गराए।

कृषि प्रदर्शनीको मूल्यांकन महोत्सव परिसरमा भएको प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि शुक्रबार मुल्याङ्कन गरिएको छ। मूल्यांकनबाट आएको नतिजा भने माघ २ गते सार्वजनिक गरिने कृषि परिसर समितिका संयोजक हरिकुमार चौधरीले जानकारी दिए। उनका अनुसार मूल्याङ्कनका लागि रामपुर कृषि क्याम्पस, खैरहनीका प्रमुख मिलन सुवेदी, कृषि विकास अधिकृत दीपेन्द्र अर्याल, कृषि प्राविधिक यमुना सापकोटा, माटो प्राविधिक मनीष पौडेल, कृषि सेवा केन्द्रका नरनाथ आचार्यलगायत सहभागी थिए।

माघ ४ गतेसम्म सञ्चालन हुने खिचरा महोत्सवको आठौँ संस्करणमा शुक्रबार पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु