काठमाडौँ, ९ फागुन । राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट पनि दबाब आएपछि कांग्रेसले निर्णय गर्न ढिलाइ गरिरहेको हो ।
कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेदवार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलाइ हुनु संयोग मात्रै नभएको बताए । ‘देउवालाई राष्ट्रपतिमा अघि सार्न पार्टीभित्र र बाहिरबाट निकै दबाब छ, पाँच वर्षसम्मै प्रधानमन्त्री नहुने परिस्थिति रहने हो भने राष्ट्रपतिमा जानु उचित हुन्छ भन्ने संकेत परिवारभित्रबाटै देखिन्छ तर यसको पछि सबैको आ–आफ्नो स्वार्थ जोडिएका छन्, ‘देउवानिकट एक नेताले भने, ‘व्यावहारिक रूपमा सोच्ने हो भने दुई महिना अघिदेखि नै रामचन्द्र दाइ ९पौडेल० लाई राष्ट्रपति बनाउने वचन दिइसक्नुभएको छ । उहाँलाई वचन दिएर आफैं त्यस पदमा अघि सर्दा पदको लोभ गरेको आरोप लाग्न सक्छ । शेरबहादुर दाइ आफैंले पनि म हुन्न, रामचन्द्रलाई वचन दिइसकेको छु भन्दै आउनुभएको छ, नैतिक रूपमा उहाँलाई अघि बढ्न कठिनाइ छ ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पार्टी सभापति नै राष्ट्रपतिका लागि अघि सर्ने चर्चामा आफूलाई विश्वास नभएको दाबी गर्छन् । सैद्धान्तिक रूपमा कार्यकारी प्रमुख भइसकेको व्यक्ति आलंकारिक राष्ट्रपति पदमा जान नहुने तर्क उनको छ ।–00–


