रेशम सापकोटा – सेतो नेपाल
चितवन,४ भाद्र – भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेशस्थानका दिदीबहिनीहरू नवलपरासीको गैडाकाटमा नारायणी नदी किनारमा अवस्थित यल्लो हाउस नारायणी रिभर रिसोर्ट एण्ड पार्टी प्यालेस को सभा हलमा भेला भई विशेष शुभकामना आदान–प्रदान तथा दरखानी कार्यक्रम सम्पन्न गरेका छन्।
तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले परम्परागत शैलीलाई जगेर्ना गर्ने उद्देश्यसहित ताली बजाउँदै पुराना भाकामा गीत गाइ नाचेका थिए। हाल प्रचलित डेक बजाएर नाच्ने प्रवृत्तिलाई छाड्दै आफ्नै स्वर, ताल र तालीमा गीत गाउँदा वातावरण अझ रमाइलो र आत्मीय बनेको सहभागीहरूको अनुभव थियो। उनीहरूले पुराना भाका सँगसँगै मौलिक रचनाहरू पनि प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा थप रौनक ल्याएको थियो।
कार्यक्रममा दिदीबहिनीबीच आपसी सद्भाव, आत्मीयता र सम्झनाको आदान–प्रदान मात्र होइन, नेपाली सांस्कृतिक मूल्य र परम्परालाई भविष्यका पुस्तासम्म पुर्याउने संकल्प पनि गरिएको थियो। सहभागीहरूले परम्परागत शैलीमा गीत गाउँदा आफूलाई पुराना पुस्तासँग जोडिएको महसुस भएको बताएका छन्।
यस किसिमका मौलिक शैलीमा आयोजित तीज कार्यक्रमहरूले नेपाली संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, महिलाबीचको ऐक्यबद्धता, सामाजिक सम्बन्ध र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँछन्।


