काठमाडौं । धेरै नेपालीको प्रमुख श्रम गन्तव्य रहँदै आएको संयुक्त अरब इमिरेट्स (यूएई) ले अब श्रमिक भिसा समेत दिन बन्द गरेको छ। यसअघि यूएईले भिजिट भिसा बन्द गरिसकेको थियो।
भिसा बन्दसँगै यूएईका कम्पनीहरूले पठाएका मागपत्रहरूमा कारबाही रोकिएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन्। सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी भिसाका लागि आवेदन दिएका श्रमिकहरूको प्रक्रिया पनि अघि नबढेको बताइएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरूङका अनुसार हजारौंको संख्यामा भिसा निवेदनहरू रोकिएका छन्।
यूएईले जेन-जी आन्दोलनपछि कैदीबन्दीहरू भागेको घटनालाई लिएर सुरक्षा कारण देखाउँदै पहिले भिजिट भिसा रोकेको थियो। अब श्रमिक भिसासमेत रोकिँदा यूएई जान चाहने नेपाली युवाहरू ठूलो अन्योलमा परेका छन्।
व्यवसायीहरूले श्रमिक भिसा पुनः खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्। हाल युएईमा झन्डै ५ लाख नेपाली श्रमिक कार्यरत छन्। यूएई नेपाली युवाहरूको प्रमुख रोजगारी गन्तव्यको रूपमा रहेको मुलुक हो। –00–


