उपबास बसेर आज जितिया मनाउँदै, बहेरा र बहेरी गाउँ मिलेर धुमधामसँगै मनाए साँस्कृतिक कार्यक्रम -फोटो फिचर

चितवन । काठमाण्डौं उपत्यका सहित तराई क्षेत्रमा बसोकास गर्ने थारु समुदायले जितिया पर्व मनाइरहेका छन् । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (ब्रत )परेको छ । यो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ ( दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त )भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन् । अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको चितवन रत्ननगरकी राधाकुमारी चौधरीले बताउनुभयो ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने भीमवली थारु नारी समुहकी अध्यक्ष बालकुमारी चौधरीले जानकारी दिनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरीको भनाई छ ।

विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ‘गरग्वाङ’) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

पारनसँगै जितिया पर्व विधिवत रुपमा समापन हुन्छ ।

यसैबीच पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नं. १ बहेरा र बहेरी गाउँको संयुक्त आयोजनामा जितिया विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

कंकाली माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको कार्यक्रममा वडा भित्रिका विभिन्न टोल विकास संस्थाले सहभागीता जनाएर आ आफ्नो प्रस्तुती देखाएका थिए ।
कार्यक्रममा गायक रोहित सिंह चौधरी लगायतका थारु कलाकार सभासंग आवद्ध कलाकारहरुको समेत प्रस्तुती थियो ।

कार्यक्रममा वडा अध्यक्ष नवराज भुषालले सबै समुदायको चाडपर्व नेपालको साझा सम्पती भएका कारण यसको संरक्षणहुनुपर्नेमा जोड दिनुभयो । सबै धर्म संस्कृतिलले राम्रामार्गनिर्देश गरेकाले यसलाई पच्छाउँदै सम्बृद्ध वडा बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले सत्यवादी र संघर्षशीलहुन जितियाले प्रेरित गरेको बताउनुभयो । जितवहान जस्तै संघर्षशील बन्न र चिल्हो जस्तै सत्यवादी बन्न सबै ब्रतालुहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रमका संयोजक सविता चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यपालिका सदस्य बुधरमिया चौधरी, स्थानीय हरिकुमार चौधरीले बोल्नुभएको थियो । कार्यक्रम संचारकर्मी सुमित्रा महतोले संचालन गर्नुभएको हो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु