पश्चिम चितवनको मेघौलीमा सांस्कृतिक महोत्सव

भदौ १२, चितवन । पश्चिम चितवनको मेघौलीमा शनिवार देखि मेघौली सांस्कृतिक महोत्सव–२०७९’ सुरू भएको छ । महोत्सवको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उद्घाटन गरेकी हुन् ।
उक्त अवसरमा बोल्दै मेयर दाहालले पश्चिम चितवनको मेघौली वन्यजन्तु तथा चराचुरूङ्गीका गतिविधि प्रत्यक्षरुपमा अवलोकन गर्न सकिने उत्कृष्ट ठाउँ रहेको बताइन् ।

स्थानीय थारु जातिको संस्कृति एवं स्वागतसत्कार यहाँको थप आकर्षणको रुपमा रहेको बताउँदै उनले नारायणी नदी र राप्ती नदीको तटबन्ध भएपछि मेघौलीको पर्यटन थप उठने बताइन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वसोबास गर्ने बासिन्दा वन्यजन्तुका कारण प्रभावित भएकाले मेसजालीका लागि सरकारी तवरबाट सहयोग गरिने उनको भनाइ छ । ‘वन्यजन्तुकै कारण पर्यटक बढेका हुन्, वन्यजन्तुबाटै हुने मानवीय र भौतिक क्षति कम गर्नेतर्फ हामी सबै लाग्नुपर्छ’ उनले भनिन् ।

मेघौलीस्थित टाइगर युवा क्लब र सङ्हाती युवा क्लबको आयोजनमा २०७९ भदौ १८ गतेसम्म सांस्कृतिक महोत्सव सुरू गरिएको हो ।

नारायणी फेयर एक्जिविसन नेपालको व्यवस्थापन र मेघौली उपभोक्ता समिति मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज प्रवद्र्धक र वडा कार्यालय भरतपुर–२७ संरक्षक रहेको महोत्सव भरतपुर–२७ मेनरोड, पर्साढाप ओरालो मैदानमा भएको छ ।

एक साता लामो महोत्सवमा बद्री पंगेनी, पशुपति शर्मा, ज्योति मगर, प्रिती आले, रमेशराज भट्टराई, कमल खत्री, मिलन लामा, अनु चौधरी, भूमिका गिरी, एलिना चौहान, मार्मिक लामा, रचना रिमाल, जिबी सुनार, ढाकाराम पौडेल, रमेश श्रेष्ठ मेलोडी, संजय देवकोटा, कर्णराज गिरी, सरीता श्रेष्ठ, शिशिर तिमल्सिना, पार्वती लोहनी, दीक्षा सुनार, नवीन केसी, ममता चौधरी, शक्ति गोदार, गुन्द्रुके, रवि रिमाल, दीपक खड्का, महादेव त्रिपाठी, मनोज विक, नेत्रजी पन्त, राजु परियार, उमादेवी खनाल र बलराम सरकारको प्रस्तुती रहनेछ ।

थारुका विभिन्न नाचसँगै कुमाल जातिको पान्दुरे, मगर जातिको कौडा, गुरूङ जातिको घाटु, ब्राह्मण जातिको शिव पार्वती, राधाकृष्ण, नेवार जातिको लाखे नाचलगायतको प्रस्तुती रहने साथै स्थानीय थारु, कुमाल, मगर जातिको खानाको प्रकार, वन्यजन्तुसम्बन्धी वृत्तचित्र प्रदर्शनी, स्थानीय कृषि उत्पादन, हस्तकला तथा औद्योगिक प्रदर्शनी र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन हुने टाइगर युवा क्लबका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

सांस्कृतिक महोत्सवमा सो क्षेत्रमा वसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति एवं धार्मिक परम्परा वेशभूषाको संरक्षण एवं विकासका लागि महोत्सव आयोजना गर्न लागिएको मेघौली उपभोक्ता समिति मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जका अध्यक्ष मायाराम चौधरीले जानकारी दिए ।

मेघौलीमा चितवन राष्ट्रिय निकुञ्जसँगै जैविक विविधताको दृष्टिकोणले मह¤वपूर्ण मानिएका धेरै तालतलैया, सिमसार क्षेत्र र आदिवासी जनजातिको मुख्य वसोबास क्षेत्र भएकाले त्यसको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको उनले बताए ।
यस महोत्सवले मेघौलीको जैविक विविधता, धार्मिक तथा ऐतिहासिकस्थलहरु भोजराज बाबा, थारु, कुमाल, दराई, मगर आदिको सांस्कृतिक सङ्ग्रहालयको संरक्षण र विकासका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न मह¤वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

नेपालमै पहिलोपटक २०५७ सालमा तत्कालीन अवस्थामा गाविसस्तरबाट महोत्सव गर्ने मेघौली पहिलो थियो । २०६० सालमा दोस्रो, २०६२ सालमा तेस्रो र २०६६ सालमा चौथोपटक मेघौली महोत्सव सम्पन्न भइसकेका छन् । मेघौली विमानस्थलसँगै जोडिएको हात्ती पोलो खेल मैदानमा २०७६ साल फागुन १८ देखि २४ गतेसम्म पाँचौँ मेघौली पर्यटन महोत्सव आयोजना गरिए पनि कोरोना महामारीका कारण बीचैमा रोक्नु परेको थियो ।

भरतपुरदेखि २५ किलोमिटरको दूरीमा रहेको मेघौलीमा पर्ने राप्ती, नारायणी नदीसँगै नौवटा सामुदायिक वनमा घुम्नका लागि पर्यटक आउने गर्दछन् । यस क्षेत्रमा धेरै तालतलैया, सिमसार क्षेत्र रहेकोले गैँडा तथा धेरै प्रजातिका चराहरुको मुख्य बासस्थानको रुपमा समेत चिनिँदै आएको छ । कला, संस्कृति र जनजातिहरुको मुख्य थलोका रुपमा चिनिएको मेघौलीमा विभिन्न जनजातिका होमस्टेसहित साना र ठूला होटलहरु रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु