कागतीको मूल्य दोब्बर भयो,गोटाकै २० रुपैयाँसम्म

बैशाख ३ काठमाडौं । नेपाली बजारमा कागतीको मूल्य एक महिनाको बीचमा झण्डै २ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख ३ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पुगेको छ ।कालीमाटी बजारमा अहिले कागतीको प्रतिकिलो मूल्य कम्तीमा ३२० देखि ३५० रुपैयाँसम्म रहेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर देखिएको श्रेष्ठले बताए ।‘अहिले कागतीको आयात नै एकदमै कम छ, नेपाली उत्पादन बजारमा खासै आउँदैन,’ श्रेष्ठले भने ‘माग उच्च भएका कारण भारतबाट भित्रिएको कागतीको मूल्य महँगो भएको छ ।’नेपालमा निकै कम मात्रामा कागती फल्ने र फलेको कागती पनि ठूला बजारसम्म नआइपुग्ने भएकाले कागतीमा काठमाडौं जस्तो ठूलो सहर भारतमै परनिर्भर रहेको श्रेष्ठको भनाइ छ ।

महँगिएको ढुवानी लगायतका कारण बजारसम्म आइपुग्दा कागतीको मूल्य झनै बढेको उनको दाबी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालका ३९ जिल्लामा कागती खेति हुन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४६ हजार एक सय १८ टन कागती नेपालमा उत्पादन भएको थियो ।

चालु आवको ८ महिनामा नेपालले ७८ लाख ५७ हजार ८७८ किलो कागती आयातका लागि ६० करोड २३ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो । गत आवमा नेपालले ९१ करोड ९६ लाख रुपैयाँको कागती आयात गरेको थियो ।

Share:

सम्बन्धित समाचारहरु