सात साना दलले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने

काठमाडौं , १८ साउन,। सातवटा साना राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरेका छन् । सोमबार ललितपुरमा भएको छलफलपछि ती दलहरू मोर्चा घोषणाको तयारीमा जुटेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार आगामी २३ साउनमा काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गरिनेछ । नयाँ बानेश्वरस्थित थापागाउँको काठमाडौं बैंकेटमा मोर्चा घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रस्तावित मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

मोर्चा गठनका विषयमा सोमबार ललितपुरमा भएको छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतका नेताहरू सहभागी थिए ।

त्यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र जसपा नेपालका नेता जितेन्द्र सोनल पनि छलफलमा सहभागी भएको जनाइएको छ ।

साना दलहरूबीच सहकार्य र साझा राजनीतिक एजेन्डाका विषयमा छलफल हुँदै आएको र त्यसैको निरन्तरतास्वरूप आगामी २३ साउनमा मोर्चा घोषणा गर्न लागिएको हो ।

Share:

सम्बन्धित समाचारहरु