सुर्खेत । कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी र यात्रुका सामान जलेर नष्ट भएका छन्। चालकको सतर्कताका कारण गाडीमा सवार तीन बालबालिकासहित २१ जना यात्रु भने सकुशल बाहिर निस्कन सफल भएका छन्।
बुधबार अपराह्न करिब ४ बजे कालीकोटको खाडाचक्र नगरपालिका–१, मान्मस्थित जिल्ला अस्पतालको उकालोमा आगलागी भएको हो। सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडीको इन्जिन तातिएपछि आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गाडी गुडिरहेका बेला अचानक धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले तत्काल यात्रुलाई बाहिर निस्कन आग्रह गरेका थिए। चालकको सूझबुझपूर्ण निर्णयका कारण सबै यात्रु सुरक्षित बाहिर निस्किए। तर, आगो तीव्र रूपमा फैलिँदा गाडी र यात्रुका सामान जोगाउन सकिएन।
आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट १५ जना प्रहरीको टोली चारवटा आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो। प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।
घटनाका प्रत्यक्षदर्शी विपिन शाहीले गुडिरहेको गाडीमा आगलागी भएको घटना आफूले पहिलो पटक देखेको बताएका छन्।
गाडीमा सवार एक यात्राका अनुसार चालकले आगलागी भएको जानकारी गराएपछि सबै यात्रु तत्काल बाहिर निस्किएका थिए। गाडी तीव्र गतिमा चलाइएका कारण इन्जिन तातिएको हुन सक्ने ती यात्राको अनुमान छ।
आगलागीबाट मानवीय क्षति नभए पनि गाडी र यात्रुका सामानमा ठूलो क्षति पुगेको छ।


