काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट प्राप्त सहयोगसँगै कोषका विभिन्न खातामा रहेको मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर गरी उक्त रकम मौज्दात रहेको हो। विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेको खातामा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर रहेको विवरण सार्वजनिक गरिएको छ।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि विपद् व्यवस्थापन तथा प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग संकलन भइरहेको छ। विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र आवश्यक पुनःस्थापनाका काम अघि बढाउन यस्ता कोषमा जम्मा हुने रकम महत्त्वपूर्ण हुने गर्दछ।
कोषमा नेपाली रुपैयाँ र अमेरिकी डलरमा मौज्दात रहेको रकमको विवरण सार्वजनिक भए पनि उक्त रकममध्ये कति रकम खर्च भइसकेको छ, कति रकम राहत तथा पुनःस्थापनामा परिचालन गर्न बाँकी छ र पछिल्लो बाढीका प्रभावितका लागि कति रकम छुट्याइएको छ भन्ने विवरण भने उपलब्ध सूचनामा खुलाइएको छैन।

