भरतपुरका मुख्य चोकहरूमा ट्राफिक लाइट जडान हुँदै, सवारी व्यवस्थापनमा सुधारको अपेक्षा

चितवन, ३ वैशाख । भरतपुर महानगरपालिकाले सहरको प्रमुख चोकहरूमा ट्राफिक व्यवस्थापन सुधार गर्न ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको छ। ट्राफिक व्यवस्थापनमा प्रभावकारी बनाउने उद्देश्यले महानगरको पहलमा मुख्य सडकमार्गका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको हो।

महानगरका अनुसार पुलचोक–गोन्द्राङ ६ लेन सडक खण्ड र बाइपासका व्यस्त चोकहरूमा ट्राफिक लाइट जडान गरिनेछ। महानगरले सो कार्यका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिसकेको छ भने सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले यसको प्राविधिक कार्यान्वयन गर्नेछ।

परियोजनाको लागत करीब १ करोड ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। यसअघि पोखरा, नेपालगञ्ज जस्ता सहरहरूमा यस्ता ट्राफिक लाइट जडान गरिसकिएको सन्दर्भमा भरतपुरमा पनि अब आधुनिक ट्राफिक प्रणाली लागू हुने अपेक्षा गरिएको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सहरको तीव्र विकाससँगै ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न ट्राफिक लाइट जडान महत्वपूर्ण हुने बताइन्। “सडक विस्तारका कारण केही ढिलाइ भए पनि ट्राफिक लाइट सञ्चालनमा आएपछि दुर्घटनाको दर घट्नेछ र सडकमा शिस्त कायम हुनेछ,” उनले भनिन्।

सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै ल्याइएको यो योजना भरतपुरको सवारी व्यवस्थापनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु