बदलिँदो तीजको कथा – ‘जागिरे चेली’ सार्वजनिक

चितवन । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको बदलिँदो स्वरूप र आधुनिक महिलाको जीवनयात्रालाई चित्रण गर्ने नयाँ तीज गीत ‘जागिरे चेली’ सार्वजनिक गरिएको छ।

गीतलाई संगम फिल्म एण्ड प्रोडक्सन हाउसको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। परम्परागत तीज गीतहरूमा रमाइलो, नृत्य र मनोरञ्जनलाई बढी प्राथमिकता दिइने क्रममा ‘जागिरे चेली’ले भने समयसँगै महिलाको जीवनशैली, जिम्मेवारी र सामाजिक भूमिकामा आएको परिवर्तनलाई मुख्य विषय बनाएको छ।

गीतले विगतका चेलीहरूको जीवन र वर्तमान पुस्ताका आत्मनिर्भर तथा रोजगारीमा संलग्न महिलाहरूबीचको भिन्नतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतका शब्द सुमित्रा डल्लाकोटीले सिर्जना गरेकी हुन्। गीतमा बालिका तामाङ, निशा ढकाल र सुस्मिता तामाङको स्वर रहेको छ। भिडियोमा शान्ति मैनाली, सुमित्रा डल्लाकोटी, मीना सिटौला लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतलाई भण्डारा माध्यमिक विद्यालयका महिला शिक्षकहरूले प्रस्तुत गरेका हुन्।

गीतको कोरियोग्राफी गंगा महतोले गरेकी छन् भने छायांकन, सम्पादन तथा निर्देशन बालकृष्ण खनालले गरेका छन्।
भिडियोमा एकातर्फ डोको–नाम्लो बोकेर मेलापात र घरधन्दामा व्यस्त पुरानो पुस्ताका चेलीहरूको जीवनशैली देखाइएको छ भने अर्कोतर्फ शिक्षा, रोजगारी र व्यक्तिगत पहिचान निर्माणमा सक्रिय आधुनिक महिलाहरूको जीवनलाई चित्रण गरिएको छ। यसले तीज पर्वको सांस्कृतिक भावनासँगै महिलाको बदलिँदो भूमिका र समाजमा आएको रूपान्तरणलाई उजागर गरेको छ।

विशेषगरी रोजगारीका कारण घरपरिवारबाट टाढा रहेका चेलीहरूको भावना, जिम्मेवारी र चाडपर्वप्रतिको आत्मीयतालाई गीतले संवेदनशील ढंगले प्रस्तुत गरेको छ। समय परिवर्तनसँगै तीज मनाउने शैली फेरिए पनि यसको मौलिकता, संस्कृति र भावनात्मक सम्बन्धलाई जोगाइराख्नुपर्ने सन्देश गीतले दिएको छ।
यस अर्थमा ‘जागिरे चेली’ केवल तीज गीत मात्र नभई पुरानो र नयाँ पुस्ताबीचको सांस्कृतिक सेतुका रूपमा प्रस्तुत भएको सांगीतिक कृति बनेको छ।

Share:

सम्बन्धित समाचारहरु