हराएको तीन दिनपछि एक चेपाङ वृद्ध मृत अवस्थामा फेला

भरतपुर, ८ असार । घरबाट हराएको तीन दिनपछि चितवनको कोराकमा एक चेपाङ वृद्ध मृत अवस्थामा फेला परेका छन्। राप्ती नगरपालिका–१०, कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्केपछि बेपत्ता भएका थिए।

परिवार र स्थानीयले खोजतलास गरे पनि उनी फेला नपरेका मकल प्रजाको शव शनिबार दिउँसो घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने ताकुन्चे खहरे खोलाको खोँचमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो।

मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पूर्व–पश्चिम राजमार्गको वीरेन्द्रनगर बजारदेखि झन्डै १० किलोमिटर उत्तरको पहाडी खोँचमा पर्छ। उक्त क्षेत्र चेपाङ आदिवासीको बहुल बस्ती हो।

शव परीक्षणका लागि मकलको शव भरतपुर अस्पतालको शवगृहमा ल्याइएको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु