काठमाडौं, २९ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदीखोलामा आएको बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। शुक्रबार बिहान आएको बाढीले मन्दिरसम्म पुग्ने दुईवटा पुल बगाएपछि उनीहरू मन्दिरभित्रै फसेका थिए।
सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने नयाँ पुल–वीरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बीच भागमा रहेको माता अन्नपूर्ण मन्दिर आसपास बाढी आएको थियो। बाढीले मन्दिरमा आवतजावतका लागि प्रयोग हुँदै आएका दुई पुल बगाउनुका साथै मन्दिरको आधा भागसमेत क्षतिग्रस्त बनाएको थियो।
बाढीका कारण मन्दिरमा रहेका पुजारीसहित तीन जना बाहिर निस्कन नसकी फसेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको रोप रेस्क्यु तथा गोताखोरसहितको विशेष उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा रोप रेस्क्यु प्रविधिको प्रयोग गर्दै बिहान ७ः५५ बजेदेखि ८ः१५ बजेसम्मको अवधिमा तीनै जनालाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ। उद्धारपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
उद्धार गरिएकामध्ये पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयका शिक्षक तथा सर्लाही निवासी ३० वर्षीय रेवन्तप्रसाद सिंह र माता अन्नपूर्ण मन्दिरका ५२ वर्षीय भारतीय नागरिक पुजारी निर्माण गिरी रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
यसैबीच, बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बगाएको छ। सडक क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले नयाँपुल क्षेत्रमा रहेको विद्युत् पोलसमेत बगाएकाले त्यहाँ विद्युत् सेवा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ। सम्बन्धित निकायले सडक मर्मत, विद्युत् सेवा पुनःस्थापना तथा क्षतिको विवरण संकलन गर्ने काम अघि बढाइरहेका छन्।
लगातारको वर्षासँगै नदी तथा खोलाहरूमा जलसतह बढिरहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।


