गृहमन्त्रालयबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्रीलाई दियो २ दिनको समय

काठमाडौं १९, माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।

त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

‘गृह मन्त्रालय हामीले पाएका हौं, यो अडानबाट हामी पछि हट्दैनौं,’ बैठकपछि ढकालले सञ्चारकर्मीहरुसँग भने, ‘को पठाउने भन्ने हाम्रो आफ्नो विषय हो ।’ सांसद नभएका रविलाई नै पठाउने हो भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले गृहमन्त्री पठाउनुस् भनेपछि पार्टीको बैठक बसेर निर्णय गर्ने उनले बताए ।

तर गृह कुनै हालतमा नछाड्ने उनले बताए । ‘हामीले केही योजना बनाएका थियौं, त्यो लागू गर्न गृह मन्त्रालय आवश्यक परेको हो,’ महामन्त्री ढकालले भने, ‘सहमति तोडिन्छ भने भोलि काम गर्न दिन्छ भन्नेमा शंका आयो ।’

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु