माडी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले लिए सपथ

माडी प्रज्ञा प्रतिष्ठान मार्फत समग्र माडीको विकासमा सहयोगपुग्ने सरोकारवालाहरुको विश्वास

रेशम सापकोटा – सेतो नेपाल

चितवन १५ साउन – माडी नगरपालिकामा गठन भएको प्रज्ञा प्रतिष्ठान माडीका पदाधिकारीहरूले बिहीबार नगर कार्यालय परिसरमा एक औपचारिक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। २०८२ सालमा पारित माडी प्रज्ञा प्रतिष्ठान ऐनअनुसार गठन गरिएको नगर प्राज्ञ सभा १७ सदस्यीय रहेको छ, जसको कार्यकाल चार वर्षको हुनेछ।

शपथ समारोहमा अध्यक्ष नारायणप्रसाद सापकोटा, उपाध्यक्ष चन्द्र मणि महतो र सचिव प्रविण भण्डारीलाई नगर प्रमुख तारा काजीकुमारी महतोले पद तथा गोपनीयताको शपथ गराउनुभयो।
त्यसपछि बाँकी सदस्यहरू —दिपेन्द्र पौडेल, प्रेमकुमार बिष्ट, हिरामती महतो, नारायण दुवे, सुमन तिमिल्सिना, सत्यप्रकाश पौडेल, अञ्जु तामाङ, ईन्द्रदेवी महतो, बिपिन पाठक, सुदर्शन सुवेदी, पार्वती बिक र श्याम दुरालाई अध्यक्ष सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

सूर्य के.सी. र इन्दिरा दाहाल भने अनुपस्थित रहनुभयको थियो ।

शपथ ग्रहणपश्चात आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले माडी नगरभित्र रहेका सृजनशील प्रतिभाहरूलाई उजागर गर्ने अभियान आजबाट औपचारिक रूपमा सुरु भएको बताउनुभयो। उहाँले साहित्य, संस्कृति, भाषा, इतिहास र बौद्धिक अभिव्यक्तिको संस्थागत विकासमा प्रतिष्ठानले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।

उपप्रमुख खेमप्रसाद महतोले प्रतिष्ठान माडीको सृजनात्मक समृद्धिमा एउटा महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै समावेशी दृष्टिकोणका साथ नीति निर्माणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले संस्थाले नगरपालिकाको सहयोग र समन्वयमा प्राज्ञिक अभियानहरूलाई अगाडि बढाउने अपेक्षा व्यक्त गर्दै, नगरपालिकाको प्रशासनिक समर्थन सधैं रहने प्रतिवद्धता जनाउनुभयो।

प्राज्ञ सभाका अध्यक्ष नारायणप्रसाद सापकोटाले सबैलाई धन्यवाद दिँदै आफुमा जिम्मेवारी थपिएको बताउनुभयो । — “यो गहन जिम्मेवारी पाउनु म र हाम्रो टोलीका लागि गौरवको विषय हो। सृजनालाई सम्मान गर्ने, मौलिकतालाई जोगाउने र चिन्तनशील समाजको आधार तयार पार्ने दिशामा हामी अघि बढ्नेछौं उहाँले भन्नुभयो – पदभन्दा पनि काम महत्वपूर्ण हुन्छ। सिर्जना, संरक्षण र प्रवर्द्धन हाम्रो मूल आधार हुनेछ।”

सबैसंग हातेमालोगर्दै समग्र माडीको विकासमा आफुहरु सक्रियहुने उहाँले बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठान छनोट समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्दै संस्थालाई सशक्त रूपमा अगाडि बढाउन सबै वडाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो। उहाँले समिति गठनमा समावेशी दृष्टिकोणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै संस्थाले माडी नगरको सांस्कृतिक, साहित्यिक र बौद्धिक पहिचानलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।

माडी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दण्डपानी पौडेलले समिति गठनले माडीको मौलिकता, पहिचान र सिर्जनशीलताको संरक्षण र प्रवर्द्धनमा सशक्त भूमिका खेल्ने अपेक्षा राख्दै अध्यक्ष सापकोटा र सम्पूर्ण समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले माडी प्रज्ञा प्रतिष्ठानमा सक्षम व्यक्तिले नेतृत्व पाएकोमा खुशी व्यक्त गर्नुभयो । सापकोटा पत्रकार महासंघ चितवनका पूर्व सचिव हुनुहुन्छ। पत्रकार महासंघमा उहाँले गर्दै आउनुभएको योगदानको चर्चागर्दै अध्यक्ष पराजुलीले यो अभियानमा पत्रकार महासंघ चितवनले सधै साथ दिइरहने बताउनुभयो । हाम्रो अभिभावकको रूपमा रहनुभएका एक अग्रज पत्रकार आज माडीको प्राज्ञिक नेतृत्वमा पुग्नुभएकोमा हामी गर्वित छौं। उहाँसहित सम्पूर्ण समितिलाई सफल कार्यकालको हार्दिक शुभकामना दिन चाहन्छु -अध्यक्ष पराजुलीले भन्नुभयो ।

 

नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव राजु चौधरी, थारु पत्रकार  संघका केन्द्रीय अध्यक्ष  सन्तकुमार चौधरी, स्वदेश एफएमका अध्यक्ष देव अनजान शाह, कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेल, पत्रकार दीप्ति विश्वकर्मा, प्रेस सेन्टर नेपाल चितवनका पूर्व अध्यक्ष सूर्य पाठक, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, माडीका अन्य पत्रकार , साहित्यकार, बुद्धिजीवी तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सूचना अधिकारी प्रविण भण्डारीले गर्नुभएको थियो।—00—

 

Share:

सम्बन्धित समाचारहरु