काठमाडौं, २६ साउन । पर्साको वीरगञ्जबाट स्रोत खुल्न नसकेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा दुईवटा मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम फेला परेको थियो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला डुमरा निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ निवासी ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको बिन्दवासिनी गाउँपालिका–१ निवासी २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन्।
उनीहरूको साथबाट एक हजार दरका ४ हजार ५ थान, पाँच सय दरका २ हजार ३ सय ५३ थान, एक सय दरका ६ सय ४३ थान र पचास दरका ८४ थान नोट बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकमको कुल मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। –00–


