अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

फागुन २२ सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको दुई महिना नपुग्दै एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

काठमाडौं गल्फुटारका सुजन बस्नेत अस्ट्रेलिया आएको २ महिना नपुग्दै अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी कलेजसमेत जान पाएका थिएनन्।जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ।

मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ।यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृत्युवरण गरेको घटनाले निकै दुःखी बनाएको एनआरएन न्यु साउथवेल्सका सचिव विनोद कुँवरले बताए।

‘हामीले सकेसम्म नेपाली विद्यार्थीको हक हितमा काम गर्ने प्रयास गरिरहेका छौं। तर पनि यसरी दुःखद घटना घटनु नेपाली समाजको लागि पीडादायक विषय हो’, विनोदले भने। उनले सुजनको शवलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।

एनआरएन एनएसडब्लुका युवा संयोजक विक्रम दाहालले यस्ता खाले दुघर्टनाले नेपाली समाजलाई फरक र अलग पीडादायक सन्देश प्रवाह गरेको बताए।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु