जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । जनकपुरको अवस्था तनावग्रस्त बन्दै गएपछि धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बुधबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।

जारी आदेशअनुसार उत्तरतर्फ लक्ष्मीनियाँ गाउँपालिका–७ को हाटबजार चोकदेखि पश्चिमतर्फ सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बगेवासम्म, बेलौनी रोड–१, क्यू स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै शहुलाकी सडक र राष्ट्रिय प्राथमिक विद्यालय क्षेत्रसम्म कर्फ्यू लागू गरिएको छ।

त्यसैगरी दक्षिणतर्फ नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद क्षेत्रसम्म कर्फ्यूको दायरा तोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत गर्न रोक लगाएको छ। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, संयमता अपनाउन तथा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरु