सरकारको १०० दिन सुशासनमा केन्द्रित रहेको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको पहिलो १०० दिन नागरिकलाई केन्द्रमा राखेर सुशासन प्रवर्द्धन गर्ने काममा केन्द्रित रहेको बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकारका प्रारम्भिक कामहरू नागरिकलाई सहज सेवा प्रवाह र प्रशासनिक झन्झट कम गर्ने दिशामा उन्मुख रहेको बताए।

उनले नागरिकको प्रत्यक्ष सरोकार रहने सेवाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, सेवा प्रवाहलाई सरल बनाउने तथा आवश्यक सेवाहरूलाई घरदैलोमै पुर्‍याउने प्रयासको सुरुवात भएको उल्लेख गरे। उनका अनुसार सुशासन सरकारको प्रमुख प्राथमिकताका रूपमा रहेको छ।

“जहाँ नागरिकको भिड हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्छन्, ती क्षेत्रलाई डिजिटल बनाउने, होम डेलिभरीमार्फत सेवा उपलब्ध गराउने तथा सेवा प्रवाहलाई कम झन्झटिलो बनाउने कामको थालनी भएको छ,” उनले भने।

लामिछानेले सरकारका कामकारबाहीका क्रममा देखिन सक्ने कमजोरीप्रति पनि सरकार सचेत रहेको बताए। असल नियतका साथ अघि बढाइएका कामहरूमा कहिलेकाहीँ प्रक्रियागत त्रुटि हुन सक्ने भए पनि त्यसलाई समयमै पहिचान गरी सुधार गर्नु नै महत्वपूर्ण हुने उनको भनाइ थियो।

उनले प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा आवश्यक सुधार गर्दै सरकार अघि बढ्ने बताउँदै भविष्यमा त्यस्ता कमजोरी दोहोरिन नदिन विशेष ध्यान दिइने उल्लेख गरे।

“कतिपय काममा प्रक्रियागत रूपमा कमजोरी हुन सक्छन्। तर सरकारले त्यसलाई महसुस गर्‍यो कि गरेन, सच्यायो कि सच्याएन भन्ने कुरा महत्वपूर्ण हुन्छ,” उनले भने, “यदि कुनै कमीकमजोरी भएका छन् भने आगामी दिनमा ती नदोहोरिने गरी सचेत भएर अघि बढ्छौँ।”–00—

Share:

सम्बन्धित समाचारहरु