नौ दिनसम्म भक्तपुरमा चलेको बिस्केट जात्रा सकियो

बैशाख ५ काठमाण्डौ । नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो।

काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ।

लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् ।

बिस्का जात्राको अन्तिम दिन गहिटीमा रहेको भैरवको रथलाई माथ्लो टोलमा लगिन्छ। र, दिउँसो रथलाई पाँचतले मन्दिर अगाडि पुर्‍याएपछि जात्रा सम्पन्न हुन्छ।बिस्का जात्रा अवधिमा टोल टोलमा अन्य जात्रा पनि मनाइन्छन्। यो अवधिमा भक्तपुरमा मनाइने जात्रामा ब्रम्हायणीको खट जुधाउने जात्रा, चोछेंको छुमा गणेश जात्रा, महाकाली महालक्ष्मी जात्रा, बाराही जात्रा लगायत छन्।

यो जात्रासँग एउटा किंवदन्ती जोडिएको छ। परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको सुन्दरी राजकुमारी थिइन्। राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई राजगद्दी सुम्पने बताए। राजगद्दी पाउने आशमा धेरै कुमार अघि सरे।राजकुमारीले जोसँग बिहे गरे पनि पहिलो रातमै राजकुमार मृत्युवरण गर्न पुग्थे। एक पटकका राजकुमारले राजकुमारी निदाउन्जेल ढुकेर बसे। राजकुमारी निदाएपछि उनको नाकका पोराबाट दुई वटा नागनागिनी निस्के। तिनीहरूले अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न खोजे। राजकुमारले तिनीहरूलाई खड्ग प्रहार गरी टुक्रा(टुक्रा पारिदिए। ती नागनागिनीले प्राण त्याग्ने वेला ‘हामीले प्राण त्यागेपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू’ भने।

भोलिपल्ट अघिल्ला घटना झैं गुठियार राजकुमारको शव लिन जाँदा त उनलाई जिउँदै देखेर चकित भए। अनि नागनागिनी मरेको देखेर सबै खुशी भए। त्यसपछि राजाले छोरीलाई धनसम्पत्ति दाइजो दिई राजकुमारको राजतिलक गरिदिए।

अजिङ्गरका रूप धारण गर्ने नागनागिनी मारिएको खुशियालीमा मनाउन थालिएको बिस्केट जात्रामा त्यसैको स्मरणस्वरूप ५५ हात लामो सल्लाको रूखको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरिन्छ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु