मन्त्री महावीर पुनको घोषणा : ‘मन्त्रालयमै बसेर काम गर्छु’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने घोषणा गरेका छन्। सोमबार (असोज ६) शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

“मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो,” पुनले भने, “काम गर्ने हो। म मन्त्री हुँदैमा सबै सुधार हुन्छ भन्ने छैन। म भगवान हैन।”

उनले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुधारका काम अघि बढाउने बताए। “आफ्नो पालोमा केही न केही सुधार गर्ने हो,” मन्त्री पुनले भने। किताब बेच्ने क्रममा अचानक मन्त्री बन्नु परेको अनुभव पनि उनले सुनाए।

मन्त्री पुनले निर्णय र नीति बनाउन विज्ञको सुझाव लिने प्रतिबद्धता जनाए। विज्ञान, प्रविधि र अनुसन्धानमै आफ्नो ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले भने, “अहिले शिक्षा र विज्ञान क्षेत्रमा ठ्याक्कै यो गर्छु भन्ने योजना तयार छैन, तर अनुसन्धानमै जोड दिनेछु।”

Share:

सम्बन्धित समाचारहरु