चितवन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर समिति, चितवनले जिल्ला समितिको अधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै उक्त अधिवेशन बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ।
२०८२ असार ७ गते जारी प्रेस विज्ञप्तिमा संगठनले वर्तमान राजनीतिक परिस्थिति र संगठनको एकता, विधि तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। विज्ञप्तिअनुसार संगठनभित्र निर्णय प्रक्रिया सम्मानजनक सहभागिता, सहमति र संस्थागत अभ्यासका आधारमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ।
कालिका नगर समितिले चितवन जिल्ला समितिको अधिवेशन सञ्चालनका क्रममा स्थापित विधि र प्रक्रियालाई बेवास्ता गरिएको, सीमित व्यक्तिको मनोमानी तथा एकपक्षीय ढंगबाट गतिविधि अघि बढाइएको र आवश्यक समन्वय तथा परामर्शलाई उपेक्षा गरिएको आरोप लगाएको छ। यसले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यही कारण देखाउँदै समितिले उक्त अधिवेशनको सम्पूर्ण प्रक्रियाप्रति असहमति जनाएर औपचारिक रूपमा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ। साथै, संगठनभित्र देखिएका असन्तुष्टि र समस्यालाई विधिसम्मत, संस्थागत तथा न्यायोचित ढंगबाट समाधान गरी संगठनको एकता, अनुशासन र गरिमालाई थप मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिको अन्त्यमा संगठनको हित, एकता र उज्ज्वल भविष्यप्रति आफ्नो प्रतिबद्धता यथावत् रहने विश्वास व्यक्त गरिएको छ। उक्त विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर समिति, चितवनका अध्यक्ष अजय लामाको हस्ताक्षर रहेको छ।

–00—


