अस्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं ,३१ जेठ । — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै प्रतियोगितामा सफल सुरुआत गरेको छ।

क्यानडाको भ्यानकुभरमा सम्पन्न खेलमा अस्ट्रेलियाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

अस्ट्रेलियालाई अग्रता दिलाउने क्रममा युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले २७औँ मिनेटमा आकर्षक गोल गरे। तीव्र प्रतिआक्रमणबाट सिर्जित अवसरलाई उनले उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाएका थिए।

पहिलो हाफ १–० ले अघि रहेर सकाएको अस्ट्रेलियाले दोस्रो हाफमा पनि खेलमा नियन्त्रण कायम राख्यो। टर्कीले केही समय दबाब बनाए पनि बराबरी गोल गर्न भने असफल रह्यो। खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले डी–बक्सबाहिरबाट शक्तिशाली र सटिक प्रहार गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए। उनको लो–ड्राइभ शट टर्कीका गोलरक्षकका लागि रोक्न कठिन सावित भयो।

यस जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा तीन अंक जोडेको छ। समान तीन अंक भए पनि गोलअन्तरमा अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले हराएको थियो। पहिलो चरणपछि अमेरिका र अस्ट्रेलिया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने टर्की र पाराग्वे अंकविहीन अवस्थामा रहेका छन्।

अब अस्ट्रेलियाले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ। टर्कीले भने पाराग्वेविरुद्ध अंकको खोजी गर्नेछ। —00–

Share:

सम्बन्धित समाचारहरु