शीतलहरका कारण दाउन्ने खण्डमा सवारी आवागमन ठप्प, यात्रु अलपत्र

 बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

दाउन्ने खण्डको उकालो र ओरालो क्षेत्रमा शीतलहरका कारण सडक भिजेपछि सवारी साधन चिप्लिएर गुड्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार करिब १५ घण्टादेखि उक्त क्षेत्रमा सवारी आवागमन बन्द छ ।

सडक अवरुद्ध भएपछि बर्दघाट र दुम्किबासतर्फ सवारी साधनहरूको लामो लाइन लागेको छ । शीतलहर कम भएपछि मात्रै सडक खुल्ने प्रहरीले जनाएको छ । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत अन्य स्थानमा सवारी आवागमन सहज भए पनि दाउन्ने क्षेत्रमा अझै सडक निर्माणको काम बाँकी रहेकाले समस्या झनै जटिल बनेको छ ।

काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेका यात्रु विनोद परियारले आफू करिब १४ घण्टादेखि दाउन्ने क्षेत्रमा जाममा फसेको बताए । लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू निकै सास्तीमा परेका छन् ।–00—

Share:

सम्बन्धित समाचारहरु