काठमाडौं ,३१ जेठ । वाणिज्य बैंकहरूले असार महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। जेठ महिनाको तुलनामा बैंकहरूको औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको देखिएको छ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम औसत ब्याजदर असारमा ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा यस्तो ब्याजदर ४.३४ प्रतिशत रहेको थियो।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ। जेठमा ३.२० प्रतिशत रहेको औसत ब्याजदर असार महिनाका लागि ३.१८ प्रतिशत कायम गरिएको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन्।
बाँकी १३ वाणिज्य बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहनुका साथै कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा निक्षेप ब्याजदरमा दबाब परेको विश्लेषण गरिएको छ। ब्याजदरमा आएको यो सामान्य गिरावटले बचतकर्ताको प्रतिफलमा केही असर पार्न सक्ने भए पनि कर्जा लिने ग्राहकलाई भने राहत मिल्ने अपेक्षा गरिएको छ। –00—


